एजेन्सी (नयाँ दिल्ली)– बलिउडका हास्य अभिनेता तथा फिल्म निर्माता निरज वोराको निधन भएको छ। लामो समय बिरामी रहेका उनको बिहीबार बिहान ४ बजे मुम्बईको क्रिटी केयर अस्पतालमा निधन भएको हो।
गत वर्ष अक्टुबरमा उनलाई एकैसाथ हृदयाघात र मष्तिकाघात भएको थियो। यसपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएका उनी कोमामा गएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो।
परिवारका कोही पनि नभएका निरज लामो समय कोमामा गएपछि उनलाई फिरोज नाडियावालाले जुहुस्थित घर ‘बरकत भिल्ला’ मा राखेका थिए। फिरोजले निरजको रेखदेखको सबै जिम्मेवारी लिँदै एउटा कोठालाई आइसीयूमा परिणत गरी उपचारको व्यवस्था मिलाएका थिए।
गत मार्चदेखि उनको हेरविचारका लागि नर्स, वार्ड ब्वाइ र खाना पकाउने व्यक्ति २४ सै घन्टा खटिने गरेका थिए। यसका साथै उपचारका लागि फिजियोथेरापिस्ट, न्युरो सर्जन, एक्युपञ्चर थेरापिस्ट र जनरल फिजिसियन हरेक साता आउँथे।
निरजकी श्रीमतीको यसअघि नै निधन भएको थियो। उनको सन्तान पनि थिएनन्।
निरजले ‘रंगीला’, ‘विरासत’, ‘हेराफेरी’, ‘गोलमाल’ लगायत चर्चित फिल्ममा अभिनय गरेका थिए। कोमाबाट बाहिर निकाल्न उनलाई राखिएको कोठाको भित्ताभरि उनी अभिनीत हिट फिल्महरुको पोस्टर टाँसिएको थियो। कोठामा ती फिल्महरु नियमित रुपमा देखाउने पनि गरिन्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।