काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डका विषयमा विवाद देखिएको छ।
मन्त्री र सांसद भइरहेकालाई पनि जिल्ला इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी दिने वा नदिने भन्ने विषयमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद उत्पन्न भएको हो। यसकारण, दिउँसो बसेको बैठक बिना निष्कर्ष स्थगित भएको हो।
ओलीले दोहोरो जिम्मेवारीको कुरा उठान गरेपछि नेपालले असहमति राखेका थिए। उनले एक व्यक्ति एक पदको मापदण्ड अपनाउनुपर्ने अडान राखेका थिए। प्रदेश पदाधिकारी चयनमा पनि यस्तै विषय उठेपछि यी दुई पक्षबीच नै विवाद सिर्जना भएको थियो।
ओलीलाई महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले साथ दिएका थिए।
बैठकमा प्रचण्डले केही व्यक्तिका बारेमा दोहोरो जिम्मेवारी दिन सकिने भए पनि त्यसैलाई सबैतिर लागू गर्न नसकिने बताएको एक नेताले बताए।
माधव नेपालको तर्कमा नेताहरु झलनाथ खनाल, वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए। ओली कित्तामा पुगेका भनेर विश्लेषण हुँदै आएका रामबहादुर थापा बादल भने मौन रहेका ती नेताले बताए।
बैठक बुधबार १२ बजेका लागि पुन बोलाइएको छ।
विवादपछि, केन्द्रीय सदस्यहरुको कार्यविभाजनको पनि टुंगो लाग्न सकेन। 'केन्द्रीय कमिटीहरुको सदस्यहरुको कार्यविभाजनको बारेमा छलफल प्रारम्भ भएको छ। छलफलले पूर्णता पाइसकेको छैन', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए, 'भोलि १२ बजे पुन सचिवालयको बैठक बसेर त्यसलाई टुंगाउने समझदारी भएको छ।'
बुधबारको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनको विषय सम्पन्न गरेमा प्रवास संगठनको एकीकरण लगायतका काम र अरु विषय पनि छलफल गरिने उनले बताए।
यो पनि : नेकपा सचिवालयको बैठक निष्कर्षविहीन, भोलि १२ बजे पुनः बस्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।