काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट १० करोड पुर्याउन उपयुक्त हुने तर्क गरेका छन्।
आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषका लागि सरकारले ६ करोड बजेट बिनियोजन गरेकोमा आलोचना भइरहेका बेला उनले तत्कालका लागि त्यसलाई बढाएर १० करोडसम्म पुर्याउन उपयुक्त हुने जिकिर गरे।
मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि सांसद क्षेत्र पूर्वाधार विकास कोषलाई तत्कालका लागि कटौती गर्न नमिल्ने स्पष्ट पारे। जनतामा सुःख र समृद्धि छाएपछि सांसद क्षेत्र विकास कोषको बजेट कटौती गर्न आफूहरु सहमत हुने उनको स्पष्टीकरण थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले भने सरकारले ल्याएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी गरे। उनले कर्मचारीको तलब/भत्ता लगायतमा मात्रै केन्द्रित रहेको बजेटले कसरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्दै सरकारको आलोचना गरे।
नेता लेखकले सरकारले आफैले घोषणा गरेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ नारालाई यो बजेटले सम्बोधन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।