फाइल तस्बिर।
काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
सांसद मिनबहादुर विश्वकर्मा सरकार दिनानुदिन निर्मम र निरंकुश र सर्वसत्तावादी हुँदैछ भन्ने आरोपलाई लोकसेवा आयोगले हालै सार्वजनिक गरेको विज्ञापनले साकार पारेको बताए। उनले लोकसेवा आयोगको विज्ञापन खारेज गरी संविधानको धारा ३८, ४० र ४२ को कार्यान्वयन हुने गरी पुनः प्रकाशित गर्न माग गरे।
सांसद मिनेन्द्र रिजालले 'संविधानसभा पदकको डिजाइन र सुशोभनको शैलीले संविधान निर्माणका लागि गरिएको बलिदानीपूर्ण संघर्ष र संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन' भन्ने जनगुनासो रहेको भन्दै सम्बन्धित निकायको ध्यानआकृष्ट गराए।
सांसद यज्ञबहादुर बोगटीले जेठ १० गते अछामको ढकारी गाउँपालिका-४, बलातामा आगलागीबाट ७ वटा घरपूर्ण रुपमा नष्ट भएको, पशुपंक्षीलगायत नगद जिन्सीको क्षति भएको भन्दै तत्काल पीडितलाई राहतको व्यवस्था गर्न माग गरे।
अर्का सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भुपु गोर्खा सैनिकहरुले वर्षौंदेखि उठाउँदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गरे।
सासद रंगमती शाहीले जेठ ७ गते तिब्बतको पात्लाकोटमा एक जना चिनिया महिलाको मृत्यु भएको र सोको छानबिनका लागि हुम्लाका तेज बहादुर थडेरालाई ताक्लाकोटको पुरुङ लगिएको तथा त्यसपछि कामदारलाई हुम्लामा लखेट्ने काम गरिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
अर्का सांसद राजेन्द्रप्रसाद लिङ्देनले विगत ३ दशकदेखि बेलायती भूतपूर्व सैनिकहरु समान कामको समान ज्यालाको माग राखेर आन्दोलनमा रहेको भन्दै प्रधानमन्त्रीको बेलायत भ्रमणको क्रममा सो समस्याको समाधानलाई निष्कर्षमा पुर्याउने विषयमा उचित पहल गर्न सुझाए।
सांसद लक्ष्मणलाल कर्णले विरगञ्जमा उच्च अदालतको भवन निर्माण तत्काल सुरु गर्न सरकारसँग माग गरे। उच्च अदालत भवन निर्माणका लागि सर्वोच्च अदालतले ७ विघा जग्गाको माग गरेको फाइल उद्योग मन्त्रालयले थन्काएर राखेको दाबी उनको थियो।
उच्च अदालतको भवन बनाउन सर्वोच्च अदालत तयार भइरहेको अवस्थामा भवन निर्माणसम्बन्धी फाइल मन्त्रालयमा अड्काउने काम भएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। जनपुरको उच्च अदातलको अतिरिक्त बेन्च उच्च अदालत विरगञ्जमा सञ्चालन हुँदै आएको छ।
सांसद महेश बस्नेतले मुलुक धर्मनिरपेक्ष राष्ट्र भइसकेकाले आफूमा निहित क्रिश्चियन धर्म विरोधी भूतलाई हटाउन सांसदहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।