भैरहवा- जिल्ला प्रशासन कार्यालय रुपन्देही आइएसओ ९००१ : २०१५ प्रमाणपत्र प्राप्त गरेको छ। आइएसओ प्रमाणपत्र प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने आवश्यक सबै मापदण्ड पुगेपछि कार्यालयले प्रमाणपत्र पाएको हो।
यसअघि उद्योग, व्यवसाय आइएसओबाट सर्टिफाइड हुँदै आएकोमा पहिलो पटक सरकारी कार्यालयले आइएसओ नम्बर प्राप्त गरेको हो। कार्यालयको प्रमाणपत्र नम्बर ‘क्युएमएस–१९–०५–७१’ रहेको छ।
‘हालसम्म मुलुकको कुनै सरकारी कार्यालय आइएसओबाट सर्टिफाइड भएको जानकारी छैन,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने, ‘जिल्ला प्रशासन कार्यालय रुपन्देही नै आइएसओबाट सर्टिफाइड हुने पहिलो कार्यालय बनेको छ।’
सीमित स्रोत, साधन र जनशक्तिको अभावमा पनि आइएसओबाट कार्यालय सर्टिफाइड हुनुमा कार्यालयका सम्पूर्ण कर्मचारीको सहयोग रहेको उनले बताए।
उनले प्राप्त प्रमाणपत्रले थप चुनौती थपिएको बताउँदै कार्यालयले गरिरहेको कार्यालय निरन्तरता दिनु आवश्यक रहेको बताए। रुपन्देही प्रमुखको रुपमा राना आएपश्चात् कार्यालयलाई पूर्ण सेवाग्राहीमुखी बनाउनका लागि प्रत्येक महिना नयाँ कामको अभियान अन्तर्गत विभिन्न काम गरेका छन्।

आइएसओबाट सर्टिफाइड हुनका लागि कार्यालयले आवश्यक सात वटा मापदण्डहरु कार्यालयले पूरा गरेको हो। तिनमा सेवाग्राही केन्द्रित हुनुपर्ने, कार्यालय प्रमुखको नेतृत्व क्षमता राम्रो हुनुपर्ने, सेवाग्राही लगायत सरोकारवालाहरुसँग राम्रो सहकार्य हुनुपर्ने, कानुनले तोकेको दायरमा छिटो छरितो सेवा प्रवाह गर्ने, कार्यालयको सेवामा सुधार भएको हुनुपर्ने, प्रमाणको आधारमा निर्णय गरिरहेको र सम्बन्ध व्यवस्थापन (तल्लो निकाय देखि माथील्लो निकाय सम्म) रहेका छन्। यिनै आधारमा कार्यालय आइएसओबाट सर्टिफाइड भएको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।
आइएसओको प्रमाणपत्र प्राप्तपश्चात् कार्यालयले आफ्नो लेटरप्याडको तल्लो भागमा आइएसओ प्रमाणपत्रको नम्बर उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।