काठमाडौं- राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद शाहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संशोधनको विषय उठिरहेको हुँदा पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री केपी ओली स्वयंले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहँदा पनि अझैसम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। उनले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाए। उनले राज्यको विभेदकारी नीतिविरुद्ध सरकारलाई संविधान संशोधनका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरे।
सांसद शाहले संविधान बनाउनेले नै संविधान उल्लंघन गरेको दाबी गरे। संविधानभन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उनले संविधान कार्यान्वयनतर्फ सरकारलाई सचेत गराए।
सरकारले संघियताको मर्म र भावनाविपरीत आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनले संविधान नाजायज औलादजस्तो भएको टिप्पणी गरे।
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद शाहलाई बोल्नका लागि समय दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।