काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका एक जना अध्यक्ष राजेन्द्र महतोले बजेटमाथि सांसदहरुले दिएको सुझाव सुनुवाइ नहुने गरेकोमा दिग्दारी व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले बजेट प्रस्तुतकर्ता, रकम र योजनाको नाम केही फरक भए पनि बजेट सधैं उस्तै आउने गरेको बताए।
'कर्मकाण्ड छलफलभन्दा बाहेक अरु केही भइरहेको छ र यहाँ? एउटा फुलस्टप, कमा र एक रुपैयाँको हेरफेर हुन नसक्ने तर दिनभरि सांसदहरुचाहिँ कराइराख्नुपर्ने', उनले भने, 'के पद्धति हो यो? राम्रोराम्रो कुरा पनि सांसदहरुले बोल्ने गरेका छन्। केही भुलसुधार हुँदैन। खालि रेकर्ड गराउने न हो। म पनि रेकर्ड गराउन उपस्थित भएको छु। हुने केही होइन, थाहै छ।'
उनले बजेट विभेदकारी भएको आरोप लगाए। 'मधेसको सन्दर्भमा बजेट जहिले पनि विभेदकारी छ', उनले भने, 'हामीले पनि जहिल्यै भनिरहेका हुन्छौं। यो पनि रेकर्ड होस्।'
५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेसले २० प्रतिशतभन्दा कम बजेट पाएकोमा उनले असन्तुष्टि व्यक्त गरे। 'यो बजेटको मुख्य विशेषता भन्नु नै संघीयतालाई कसरी असफल पार्ने भनेर आएको जस्तो देखिएको छ। त्यत्रो जनता लडेर मरेर मुलुकमा संघीयता ल्याए। तर त्यसको मूल भावना विपरीत काम भइरहेको छ', उनले भने।
उनले जनता स्वायत्त प्रदेशको लागि लडेको बताए। 'केपी ओली मार्काको संघीयता हामीले मागेका थियौं र?' उनले प्रश्न गरे।
महतोले सांसदलाई वितरण गरिएको बजेटको बचाउ गरे। 'चुनावमा मत माग्न जाँदाखेर धर्मशाला, मन्दिर र मस्जिद बनाइदे, ह्यान्ड पाइप ल्याइदे भनेर मागिन्छ', उनले भने, 'अनि सांसद भइसकेपछि त दिनुपर्यो भन्छन्। सांसदको काम त वास्तवमा त्यो होइन। तर निर्वाचन प्रणाली नै यस्तै छ त के गर्ने? बरु निर्वाचन प्रणाली फेरेर समानुपातिक बनाऔं।'
उनले मुलुक संविधानलाई नै असफल पार्नेतिर गइरहेको र सरकारले त्यता लगिरहेको आरोप लगाए। प्राप्त उपलब्धिहरु पनि पालैपालो खोसिदिने काम भइरहेको उनले दाबी गरे।
'संवैधानिक व्यवस्थाको उल्टो काम राज्यका अंगहरुले गर्न थालेका छन्। यो सरकार के हेरेर बसिरहेको छ?', उनले भने, 'बडा गडबड भइरहेको छ। हेर्दाहेर्दै सारा उपलब्धि गुम्ने हो कि, जनताले प्राप्त गरेको अधिकार पनि समाप्त हुने हो कि भन्ने पो चिन्ता हुन लाग्यो।'
उनले लोकसेवाको विज्ञापन खारेज गर्न माग गरे। 'नत्र लहरो तान्दा पहरो जान्छ है', उनले चेतावनी दिए, 'दादागिरी नगर्नुस्। केपी ओली प्रवृत्ति छाड्नुस्।'
महतोले जनताले प्राप्त गरेको उपलब्धि गुम्न दिनु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।