फाइल तस्बिरः नेकपा सचिवालय बैठक।
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
बैठकबाट केन्द्रीय नेताहरूको कार्य विभाजनको अन्तिम टुंगो लगाउने तयारी छ।
सचिवालय बैठकअघि प्रस्तावित नामहरुलाई अन्तिम रुप दिन बालुवाटारमा अहिले शीर्ष नेताहरुको बैठक बसिरहेको छ। बिहान ८ः३० बाट सुरु बैठकमा चार शीर्ष नेतामात्रै सहभागी छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'सहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी सो बैठकले कार्यविभाजनमा सहमति खोजेर सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी रहेको छ।
तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि सांगठनिक एकताको धेरै काम सकिए पनि विभाग गठन र जिम्मेवारी तोक्ने काम भएको छैन। संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको नेतृत्वमा धेरै प्रमुख नेताकै रुची रहेको र प्रतिष्ठाको विषय बन्दै गएपछि यो विषय पेचिलो बनिरहेको छ।
सोमबार अध्यक्षद्वय ओली र प्रचण्डले यस सम्बन्धमा छलफल गरेका थिए। दुवै अध्यक्षले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए। सो भेटपछि यी तीनै नेताको सामूहिक बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासमेत सहभागी भएका थिए। बैठकमा पौडेलले कार्यविभाजनको खेस्रा प्रस्तुत गरेका थिए।
सो छलफलले ७७ वटै जिल्लाका इन्चार्जमा सहमति जुटाएको छ। आजै दिउँसो बस्ने बैठकले यसलाई पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।