राजविराज– अवैध हतियार तथा लागु औषध र मदिरा नियन्त्रण गरी सामाजिक अपराध घटाउनुका साथै सिमाक्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न सप्तरी प्रहरीले फेरी एकपटक आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
सप्तरीका नवआगन्तुक एसपी मनोजकुमार यादवले जारी गरेको १२ बुँदे प्रतिबद्धता पत्रमा यसका अलावा सप्तरीलाई सबल र सक्षम बनाउने क्रममा स्थानीय तहबाट सञ्चालन हुने विकासका बाधकहरुलाई कुनै पनि हालतमा छुट नदिइने उल्लेख छ।
तत्कालीन एसपी राजेन्द्र विष्ट सरुवा भएपछि जेठ १७ गते यादव सप्तरीमा हाजिर भएका हुन्।
प्रतिबद्धता पत्रमा आन्तरिक सदृढीकरण गर्दै समग्र जिल्लामा अपराध न्यूनीकरण गरी सुदृढीकरणमा जोड दिइने, प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी सप्तरीलाई भयमुक्त बनाउने, कुनै पनि घट्ना भए न्यूनतम समयसीमा भित्रै प्रहरी पुग्ने, अपराधका घटनाको निष्पक्ष, न्यायिक एवं वैज्ञानिक अनुसन्धान गर्ने, मानव अधिकारको संरक्षण र सम्बर्धन गर्दै महिला तथा बालबालिका विरुद्ध हुने हिंसाका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उल्लेख छ।
भूमिगत सशस्त्र समूहका नाममा हुने अपराध, आर्थिक अपराध (हुन्डी, ठगी, तस्करी, लागुऔषध) विरुद्ध शसक्त कार्वाही गरी संगठनको शून्य सहनशीलता नीति कार्यान्वयनमा ल्याईने, आन्तरिक तथा बाह्य समकक्षीसँग समन्वय गरी ठोस कदम चालिने र सीमा क्षेत्रबाट आयात/निर्यात हुने साना तथा अवैध हतियार कारोबारलाई नियन्त्रण गरिने यादवको प्रतिवद्धता छ।
प्रहरीले सेवाग्राही तथा जनतासँग गर्ने व्यहार र बोली वचन अझ बढी सुधार गरी जनमुखी सेवा प्रदान गर्न उनले जोड दिएका छन्।
भारतीय नम्बर प्लेटका गाडीको आवागमन व्यवस्थित गरिने
प्रहरीले पहिलो पटक भारतीय नम्बर प्लेटका सवारी साधान कानुन वमोजिम संचालन गर्ने प्रतिबद्धता जनाएको छ। प्रतिबद्धता पत्रको १० नम्बर बुँदामा ‘भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्लंघन गरी प्रयोग गर्ने कार्यमा रोक लगाई कानुन बमोजिम प्रयोगलाई व्यवस्थित गरिनेछ’भन्ने उल्लेख छ।
प्रहरीको प्रतिबद्धतापछि नियमविपरीत संचालन हुने गरेका भारतीय सवारी व्यवस्थित हुने स्थानीयवासीले आशा गरेका छन्। यसले अपराधिक घट्ना न्यूनीकरणमा समेत सहयोग गर्ने उनीहरुको अपेक्षा छ।
यसअघि भारतीय सवारी मात्र नभई भारतीय प्रहरी समेत हतियारसहित नेपाल प्रवेश गर्ने गरेका थिए। गत फागुन २५ गते पनि भारतीय प्रहरी विआर ५० पी ३९३६ नम्बरको गाडी चढेर हतियारसहित राजविराज आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।