काठमाडौं– सोलुखुम्बुमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहले गतिविधि बाक्लिएपछि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
महाकुलुङ गाउँपालिकाको ३ नम्बर वडामा विप्लव समूहका कार्यकर्ताको उपस्थित बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीदेखि नेपाली सेनासम्म परिचालन गरिएको स्रोतले जानकारी दियो। नचिनेका मान्छेको समूहको गतिविधि बढेपछि सुरक्षा बढाइएको बताइएको छ।
स्रोतका अनुसार छेस्काम प्रहरी चौकी कब्जा गर्न विप्लव समूहको ३०–३५ जनाको टोली पुगेको थियो। तर चौकी कब्जाको प्रयास असफल भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
वडा नम्बर ३ को विभिन्न ठाउँमा अपरिचित मान्छेको समूह देखापरेको स्थानीयले बताए। उक्त समूह विप्लवकै कार्यकर्ता भएको आशंका गर्दै सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ। एक महिनायता सो ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
यसबारे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले विप्लव समूहको उपस्थित केही बाक्लो देखिएको मात्रै प्रतिक्रिया दिए।
अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको बताइएको छ।
प्रभावित ठाउँमा अहिले सेनासहितको टोली पुगिसकेको छ। हवाई गस्ती पनि चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।