काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले त्रिभुवन विश्वविद्यालय र दक्षिण कोरियाको काङनाम विश्वविद्यालयबीच भएको नयाँ सम्झौतामाथि प्रश्न उठाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई काङनाम विश्वविद्यालयले जेठ १५ गते मानार्थ विद्यावारिधिको उपाध्य प्रदान गरेको थियो। लगत्तै दुई विश्वविद्यालयका बीचमा शैक्षिक कार्यक्रम सञ्चालन समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
तर, काङनाम विश्वविद्यालयसँग यसअघि पनि सम्झौता भएको र विद्यार्थीहरु धर्म प्रचारमा संलग्न भएको पत्ता लागेपछि समयावधि अघि नै सम्झौता खारेज भएको थियो।
'उक्त विश्वविद्यालयका विद्यार्थी आएर नेपालमा दुई-चार दिन विश्वविद्यालयमा काम गरेर बाँकी समय धर्म प्रचार गरेको भनेर पुष्टि भइसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्झौता भंग गरेको थियो। फेरि के कति कारणले त्यही विश्वविद्यालयसँग सम्झौता भंग गरियो?' स्नेहीले प्रश्न गरे।
उनले सोही विश्वविद्यालयले प्रधानमन्त्रीलाई दिएको पिएचडीको उपाधिमाथि पनि प्रश्न गरे।
सन् १९४६ मा स्थापित काङनाम विश्वविद्यालयको क्रिस्टियानिटी र मानवताको सिद्धान्तमा आधारित भएर सत्य, स्वतन्त्रता, समभाव र मानव कल्याणमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्य रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीको उपाधी पनि विवादित बन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।