खोटाङ- खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले ६/६ लाख रुपैयाँ दिने सहमति भएको छ।
शैक्षिक भ्रमणका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको बेला दहमा डुबेर ज्यान गुमाएका ती विद्यार्थीका परिवारलाई शिक्षालयले ५/५ लाख राहत तथा १/१ लाख रुपैयाँ किरिया खर्च दिने सहमति भएको हो।
जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ भएको छलफलमा शिक्षालयका सञ्चालक र मृतकका आफन्तबीच क्षतिपूर्ति लिने/दिनेमा द्विपक्षीय सहमति भएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए। प्रतिमृतक परिवार ५० हजार रुपैयाँ तत्काल दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमति भएको छ।
वार्ताका माध्यमबाट सहमति जुटेपछि आज मृतक दुवै जनाको शव परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सुरुमा डुबेका भट्टराईलाई जोगाउने क्रममा बस्नेतले पनि ज्यान गुमाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताए।
एलिसका मामा विनोद बस्नेतका अनुसार छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत मृतक विद्यार्थीको स्मृतिमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ। वडा कार्यालयका तर्फबाट पनि मृतक विद्यार्थीको नाममा सामाजिक काम गर्ने योजना बनाएको वडाध्यक्ष डिल्ली राईले बताए।
क्षतिपूर्ति माग गर्दै मृतक परिवारले आइतबार दिक्तेलमा नाराबाजीसहित प्रदर्शन गरेका थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।