

काठमाडौं– सुन तस्करीका नाइकेका रुपमा प्रहरीले मुद्दा दायर गरेका गाउँपालिका अध्यक्ष सामान्य धरौटीमै छुटेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।
१० करोड रुपैयाँ बराबरको सुन तस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पौडेलसहित ९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । पौडेल र न्यूरोडका सुन पसले रमेश खड्कालाई फरार प्रतिवादी बनाउदै मुद्दा दायर गरिएकोमा १ साताअघि उनीहरु काठमाडौैं जिल्ला अदालतमा उपस्थित भई १÷१ लाख धरौटीमा छुटेका हुन् । प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध मुद्दा दायर गरेको थियो ।
व्यवस्थापक जेलमा, लगानीकर्ता सामान्य धरौटीमा
सिआईबीले भदौ १४ गते १६ केजी सुनसहित सात युवकलाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा, भक्तपुरका दीपेन्द्र थापा, बानेश्वरका सरोज थापा, काभ्रेका बिष्णु गौतम, भक्तपुरका राजेन्द्र खत्री र रबिन खत्री तथा धनुषाका दिपक कुमार साहलाई पक्राउ गरेको थियो । उनीहरुले रसुवा नाकाबाट २१ किलो सुन तस्करी गरेका थिए । जसमध्ये प्रहरीले १६ किलो टोखाबाट बरामद ग¥याृ । पक्राउ परेकाहरु सुन तस्करीका ‘वहाक’ मात्र हुन् । जसमध्ये शेर्पाले व्यवस्थापनको काम गर्दथे ।
शेर्पा गाउँपालिका अध्यक्ष पौडेलकै गाउँले हुन् । शेर्पाले प्रहरीको बयानको क्रममा उक्त सुन पौडेल र सुन पसले खड्काको भएको बयान दिएका थिए । सोही आधारमा प्रहरीले उनीहरुलाई मुद्दा दायर गरेको थियो । शेर्पा पक्राउ परेलगत्तै पौडेल र खड्का बिदेश भागेका थिए । पक्राउ परेकामध्ये शेर्पा पुर्पक्षका लागि जेलमा छन् । अन्य ६ जना धरौटीमा छुटिसकेका छन् । मुख्य तस्करहरुलाई अदालतले न्यूनतम धरौटीमै छाडिदिएपछि प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन् । पौडेल नेकपा(माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
नाइकेहरुलाई सधैं धरौटी
सुन तस्करीका मुख्य नाइकेहरु यसरी धरौटीमा छुटेको यो पहिलोपटक होइन । विगतमा पनि पटक पटक सुन तस्करीका मुख्य अभियुक्तहरु अदालतबाट सामान्य धरौटीमा छुट्दै आएका छन् । साढे ३३ किलो सुन तस्करीका मुख्य नाइकेहरु गुप्तलाल भुषाल, राजन पन्थ, राजेन्द्र शाक्य लगायत व्यापारीहरु धरौटीमा छुटिसकेको छन् । ज्याला लिएर सुन ओसारपसार गर्ने दिलबन्धु थापा र गोपाल बहादुर शाही जेलमा छन् । ८८ केजी सुन तस्करीको मुद्दामा पनि चालकहरुलाई जेल चलान गरी तस्करीका नाइके मान बहादुर लामा लगायत धरौटीमा छुटिसकेका छन् ।
सम्पती छानबिन गर्न अख्तियारलाई पत्राचार
भोटेकोशीका गाउँपालिका अध्यक्ष पौडेल सुन तस्करी लगायत अवैध गतिविधिबाट अकुत सम्पती कमाएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले उनको सम्पती छानबिन गर्न सिआईबीले अख्तियारलाई पत्राचार गरेको छ । सरकारी पदमा रहेका व्यक्ति भएकाले छानबिनका लागि पत्राचार गरिएको सिआईबीका निर्देशक डिआईजी पुष्कर कार्कीले बताए । सुन तस्करी नियन्त्रणमा आफुहरुले अन्य सरकारी निकायहरुबाट सोचेअनुसार सहयोग नपाएको उनी बताउछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।