जनकपुर- जनकपुरसहित समस्त मिथिलाञ्चलमा आज महिलाहरु हर्षोल्लाषका साथ वट सावित्री पर्व मनाउँदैछन्।
मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै विशेष रुपले वट सावित्री पर्व मनाउने गर्दछन्।
प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी विधिपूर्वक पूजा गर्ने परम्परा छ।
पान, सुपारी, केरा, फलफूल, धुप लगायतका विभिन्न पूजन सामग्रीका साथ व्रतालु महिलाहरु वर र पिपलको रुखमुनि बसेर आफ्ना पतिको दिघार्यूको कामना गरी पूजापाठ गर्दै वर र पिपलको रुखमा रातो र पहेलो धागो बेर्ने गर्दछन्।
वट सावित्री पर्वलाई स्थानीय भाषामा 'वसराइत पावइन' समेत भनिन्छ। प्राचिन कालमा सती सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यस पूजा गर्न सुरु गरेको विश्वास रहिआएको महेन्द्रनगरका पुरोहित इन्द्रकान्त झाको भनाइ छ।

उनका अनुसार सावित्रीले यो पर्व गरेकोले यमराजबाट पतिको प्राणलाई फिर्ता ल्याएको र पति जीवित भएको प्रसंग धार्मिक शास्त्रमा उल्लेख छ। यसैले मिथिलानी विवाहिता महिलाहरु दिनभरी निराहार बसी वट सावित्री पर्व उत्साहका साथ निष्ठापूर्वक मनाउने गर्दछन्।
अटल सौभाग्य, सुख, समृद्धि एवम् पारिवारिक कल्याणको कामनासहित मिथिला क्षेत्रका नवविवाहिता मिथिलानी (मिथिलाका विवाहित महिला)ले यो पर्व मनाउने गर्दछन्।
जेठ कृष्ण आमावस्या (औँसी)का दिन पतिको दीर्घायु र पारिवारिक सुख समृद्धिको कामना सहित नवविवाहिताले बिहान सूर्योदयसँगै ब्राह्मण पुरोहितलाई भोजन र दक्षिणा दिएर आफ्ना पतिलाई अभिषेक गर्दै वरसाइत पर्व मनाउँदै छन्। आजको दिन आफ्नो गाउँनगर नजिकको वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ।
मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा ज्येष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ।

व्रतालु मिथिलानीले धानको लाभा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मण पुरोहितलाई भोजन गराई दक्षिणा दिएर पर्व सम्पन्न गरिने परम्परा रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी पूर्णिमा कर्णले जानकारी दिइन्।
यसअघि मैथली ब्राह्मण, कायस्थ र सोनार जाति समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व अहिले भने मिथिला क्षेत्रका सबै जाति-समुदायका महिलाले मनाउन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।