धनगढी- कैलालीमा हावाहुरीका कारण विभिन्न ठाउँमा क्षति पुगेको छ। हावाहुरी र चट्याङका कारण ७ जना घाइते भएका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका-११ का धनीराम चौधरीको घर नजिकै सिमलको रुखमा चट्याङ पर्दा ४ जना घाइते भएका छन्। धनीरामका छोरा नरी चौधरी, छोरी अस्मिता, श्रीमती धनीयादेवी र आमा लक्ष्मी चौधरी घाइते भएका हुन्। उनीहरु सबैको धनगढीस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, कैलारी गाउँपालिका-४, के गाउँकी उखाली चौधरीको घरको छाना उडाउँदा चौधरी आफैं घाइते भएकी छिन्। उनको सेती अस्पतालमा उपचार भइरहेको छ। सोही वडास्थित खल्लाचोककी मञ्जु चौधरीको घर नजिकै रहेको बिजुलीको पोल ढल्दा उनी आफैं घाइते भएकी छिन्। उनको उपचार आँखा अस्पताल गेटामा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताए।
कैलारी गाउँपालिका-६, बहुलीयाका वीरबहादुर चन्दको २ तल्ले टिनले छाएको कच्ची घर हावाले उडाउँदा भत्काउँदा श्रीमती देवी चन्द घाइते भएकी छिन्। चन्दको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।