चितवन- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन्।
गैँडाकोटस्थित निवासमा आज बिहान कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्नेमा जोड दिए।
केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने जानकारी दिँदै उनले भने, 'नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौँ, त्रुटि हेरौँ त्यसपछि मात्रै कुरा आउँछ।'
नेतृत्वको राजीनामा हुनुपर्ने माग पनि उठेको छ नि भन्ने एक प्रश्नमा उनले पहिले कांग्रेसको शुद्धीकरण गरेर मात्रै निर्णय गरिने बताए।
पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनको भनाइ थियो। 'केन्द्रीय समितिमा छलफल हुन्छ। संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ,' उनले भने, 'क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ।'
हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उनले थपे, 'हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नुपरेको हो। तर हतास हुन पर्नेछैन। कांग्रेस समाप्त भएको छैन। गुटको अन्त्य गरेर सच्चिने कांग्रेसका लागि अन्तिम मौका हो।'
पहिलेदेखि नै कांग्रेसमा समाजवादी चिन्तन भएको भन्दै उनले समाजवादी चिन्तनबाट हिँड्दा मात्रै देशको भविष्य बन्ने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।