जनकपुर- आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सबैला नगरपालिका-४ जरहिया टोल बस्ने २७ वर्षीय रहमत राईन रहेका छन्।
उनले २५ वर्षीया उनकै श्रीमती नुर जहान खातुनको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। उनले हत्या गरेको स्वीकार गरेको समेत प्रहरीले उल्लेख गरेको छ।
शुक्रबार नुर जहान खातुन आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार ईलाका प्रहरी कार्यालय सबैलाबाट इन्स्पेक्टर चन्द्र भुसन यादव नेतृत्वको टोली घट्नास्थलमा खटिई गई मृतक नुर जहान खातुनको शवको प्रकृति हेर्दा घाँटीमा सल बेरेको र घाँटीको अगाडीको भागमा छाला पिल्सी कालो डाम रही शंकास्पद अवस्थामा देखिएको थियो।
राईनको घरमा कोही नभएकोले राइनको घर परिवारका सदस्यहरुलाई खोजतलास गर्दै जाँदा फरार रहेका मृतकका श्रीमान् रहमत राईनलाई पक्राउ गरिएको हो।
प्रहरीले खोजतलाश गरी राइनलाई पक्राउ गरेर घट्नाको बारेमा सोधपुछ गर्दा आफूले सलले घाटीमा बेरेर हत्या गरेको स्वीकार गरेको प्रहरील जनाएको छ।
उनले श्रीमतीसँग अरुसँग फोनमा कुरा गरेको विषयमा विवाद भई झगडा हुँदा आफूले सलले बेरेर घाटीमा कस्दा मृत्यु भएको बताए।
राईनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका-६ मुसहरीटोलका देवु सदाले आफ्नै श्रीमती अन्दाजी ३५ वर्षीया शिवशक्ती देवी सदालाई कोदालोले टाउकोमा हिर्काई ज्यान मार्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ।
कोदालो प्रहारबाट गम्भीर घाईते भएकी शिवशक्ती देवीको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ।
उक्त घट्ना भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको प्रहरी टोलीले देवु सदालाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।