काठमाडौं- प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बुधबार बिहान ७ बजेसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६४ र प्रदेशसभा सदस्यतर्फ ३ सय २९ प्रतिनिधि निर्वाचित भइसकेका छन्। दुवै सभातर्फ अब एक-एक क्षेत्रको काम अन्तिम परिणाम आउन बाँकी छ।
सुनसरी क्षेत्र नम्बर ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन् भने प्रदेश ३ 'ख' मा पनि कांग्रेसकै अगमलाल चौधरी अगाडि छन्।
अहिलेसम्मको विवरणअनुसार प्रतिनिधिसभामा नेकपा एमाले ८० स्थानमा जितेर पहिलो बनेको छ भने माओवादी केन्द्रले ३६ सिट जितेको छ। यस्तै, नेपाली कांग्रेसका २२, राजपाका ११ र संघीय समाजवादी फोरमका १० प्रतिनिधि निर्वाचित भएका छन्। यसैगरी, नयाँ शक्ति पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चा र राप्रपाले एक/एक सिट जितेका छन्।
प्रदेशसभा तर्फ एमालेले १ सय ६६ क्षेत्र जित्दा माओवादी केन्द्रले ७३ र कांग्रेसले ४४ स्थानमा जित हात पारेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पनि जारी छ। त्यसमा पनि एमाले नै अगाडि छ भने कांग्रेस दोस्रो स्थानमा छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।