राजविराज- सप्तरीको उत्तरी भेगमा जंगली हात्तीको आतंक बढेपछि प्रहरीले प्रभावित क्षेत्रमा गस्ती सुरु गरेको छ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने हात्तीको आक्रमणबाट सर्वसाधारणको धनजन क्षति हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न गस्ती सुरु गरिएको हो।
प्रहरीको गस्तीकै बीच पनि शनिबार राती शम्भुनाथ नगरपालिका-२, कनकपट्टी टोलमा हात्तीले १० वटा घर भत्काई करिब ३ लाख रुपैयाँ बराबरको क्षति गरेको छ। समूहमा आएका हात्तीले स्थानीय दुर्गानन्द भगतसहितका १० घर, अन्नपात तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय रुपनीको टोली तथा स्थानीयवासीको सहयोगमा बिहान करिब साढे ४ बजे हात्ती जंगलतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेटर गुरु तिम्सिनाले जानकारी दिए।
शुक्रबार राती मात्रै रुपनी गाउँपालिकामा हात्ती खेद्न प्रहरीले ४ राउन्ड हवाई फायर गरेको थियो। सर्वसाधारणलाई जोगाउन गोली चलाउनु परेको उनले जानकारी दिए।
रातको समयमा हात्तीले गाउँ पसेर क्षति गर्न थालेपछि विगत १५ दिनभन्दा अघिदेखि यस क्षेत्रका सर्वसाधारण सत्न पाएका छैनन्। ५ दिन अघि मात्रै हात्तीले रुपनी गाउँपालिका र तिरहुत गाउँपालिकाका करिब १ दर्जन घर भत्काई अन्तपात र बालिनाली नष्ट गरेको थियो।
यसैगरी जेठ ६ गते साँझ हात्तीले टाउकोमा कुल्चेर कञ्चनरुप नगरपालिका–६, जमुवाका ६५ वर्षीय गोसाई चौधरीको मृत्यु भएको थियो भने चैत २० गते हनुमाननगर कंकालिनी नगरपालिका-१, भारदहका ३५ वर्षीय पवन लौगी हात्तीको आक्रमणमा परी घाइते भएका थिए।
सप्तकोशी, कञ्चनरुप, शम्भुनाथ, हनुमाननगर–कंकालिनी, सुरुंगा तथा खडक नगरपालिकाका साथै अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाका दर्जनौं गाउँका बासिन्दा हात्तीको आतंकबाट आजित छन्।
जंगली हात्तीको पीडा पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ धेरै र दक्षिणतर्फ केही कम छ। ‘मध्यरातमा एक्कासि हात्तीले घरमा आक्रमण गर्छ। भागाभाग गरेर ज्यान जोगाउछौं,’ रुपनी गाउँपािलकाका भक्तबहादुर तामाङ्ग भन्छन्,‘घरपिच्छे आगो बालेर रातभर जाग्राम बस्नुपर्छ।’
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्ती, अर्ना, बँदेल, भालुलगायतका जंगली जनावरले आक्रमण गरी सप्तरीमा धेरै मान्छेको मृत्यु भइसकेको छ। कतिपय व्यक्ति अंगभंग भएका छन्।
पीडित परिवारले जंगली जनावरको नियन्त्रणका लागि दिर्घकालीन योजना र क्षतिपूर्तिको माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।