काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम अन्तिमतर्फ पुगेको छ। निर्वाचनमा प्रभावशाली नेता हारेका छन् भने सामान्य आँकिएका उम्मेदवारहरु फराकिलो मतले विजयी भएका छन्। केही असल मानिएका नेताहरुले चुनाव हार्दा विवादास्पद र गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरुले भने सहजै चुनाव जितेका छन्।
मेनपावर व्यवसायी, ठेकेदार, हत्याका फरार अभियुक्त तथा विगतमा रातो पासपोर्ट बिक्रीमा पक्राउ परेका व्यक्तिहरु अहिले केन्द्रीय सांसदमा निर्वाचित भएका छन्।
यी हुन् प्रतिनिधिसभाका ५ अनुहार, कतिपयको पृष्ठभूमि धूमिल छ भने केही राजनीतिलाई वैकल्पिक पेशा बनाउनेहरु छन्:
१. रेशम चौधरी : हत्याका फरार अभियुक्त
प्रतिनिधिसभामा विजयीमध्ये सबैभन्दा विवादास्पद पात्र रेशम चौधरी हुन्। उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्ति हुन्। फरार रहेका चौधरी कैलाली क्षेत्र नम्बर १ बाट २० हजार ९ सय ३५ मतान्तरले विजयी भए। उनले ३४ हजार ३ सय ४१ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी मदनकुमारी (गरिमा) शाहले १३ हजार ४ सय ६ मत ल्याइन्। उनी राजपाबाट विजयी भएका हुन्।
७ भदौ ०७२ मा कैलालीको टीकापुरमा भएको हिंसामा सात प्रहरी र एक बच्चाको हत्या भएको घटनाको प्रमुख योजनाकारका रुपमा उनी विरुद्ध प्रहरीले कत्र्तव्य ज्यान मुद्दा दायर गरेको छ। सो मुद्दामा २५ जना जेलमा छन्। घटनापछि भारत पसेका चौधरीले भने अडियो रेकर्डमार्फत भोट मागेर चुनाव जिते। चुनाव जिते पनि संसद् छिर्न उनलाई सहज छैन। फरार भएकाले उनलाई भेट्नेबित्तिकै पक्राउ गरिने प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपाने बताउँछन्।
२. नारदमुनि राना : रातो पासपोर्ट दुरुपयोग
कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रधानमन्त्रीपत्नी आरजु देउवालाई पराजित गरी कैलाली ५ बाट विजयी भएका एमालेका उम्मेदवार नारदमुनि रानाको विगत पनि निकै धूमिल छ। रातो पासपोर्टको दुरुपयोग गरी मानव तस्करीमा सघाएको आरोपमा उनलाई २० असार ०६८ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो।
उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बाँनिया ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए। आर्थिक लाभ लिएर उनले आफ्नो रातो पासपोर्टमा मानव तस्करी गरेको अभियोग सिआइबीको थियो। उनी विरुद्ध राहदानी ऐनअुनसार प्रहरीले मुद्दा दायर गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। राहदानी ऐन मुद्दामा अदालतले दोषी ठहर गरेकोमा उनी विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ।
रानाले ४ हजार ८ सय ८० मतान्तरले आरजुलाई पराजित गरेका हुन्। उनले २७ हजार २ सय २ मत ल्याए भने आरजुले २२ हजार ३ सय २२ मत ल्याइन्।
उनीसँगै रातो पासपोर्ट दुरुपयोग प्रकरणमा पक्राउ परेका शिवपुजन रायले पनि यसपाली सर्लाही २ बाट प्रतिनिधिसभाका उम्मेदवारी दिएका थिए। तर, विभिन्न उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी नै खारेज गर्यो। नारदमुनि भने चुनाव जित्दै फेरि राजनीतिमा उदाएका छन्।
३. मोहम्मद आफताब आलम : सामूहिक हत्याका आरोपी
प्रतिनिधिसभामा रौतहट– २ बाट विजयी भएका कांग्रेस नेता मोहम्मद अफताब आलम पनि विवादास्पद पृष्ठभूमि भएका व्यक्ति हुन्। ९ वर्षअघि २३ युवकलाई जिउँदै जलाएर मारेको घटनामा उनी मुछिएका थिए।
संघीय समाजवादी फोरमका नेता किरणकुमार साहलाई पराजित गरी आलम विजयी भएका हुन्। आलमले १८ हजार ८ सय ३३ मत ल्याए भने साहले १६ हजार ८ सय ६५ मत प्राप्त गरे।
संविधानसभाको पहिलो निर्वाचनको बेला बम बनाउने क्रममा विस्फोट भएर २३ युवक घाइते भएका थिए। आफूले बम बनाउन लगाएको खुल्ने डरले उनीहरु सबैलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोप मृतकका आफन्तहरुले लगाउँदै आएका छन्। तर, त्यसबेला जिल्ला सरकारी वकिल कार्यालयले आलम विरुद्ध मुद्दा दायर गरेन। सो घटनामा आलम विरुद्ध छानबिन गर्न सर्वाेच्च अदालतले समेत आदेश दिइसकेको छ। पीडितहरुले हुलाकमार्फत आलमविरुद्ध जाहेरी दर्ता गराएको समेत ८ वर्ष भइसकेको छ। आलमलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै मृतकका आफन्त र मानवअधिकारवादीहरुले दबाब दिँदै आएका छन्।
४. मोहन आचार्य : ठेकेदार
दोस्रो संविधानसभामा एक दर्जनभन्दा धेरै ठेकेदार सांसद बनेका थिए। तर, यस पटक धेरै ठेकेदार पराजित हुँदा कांग्रेसबाट मोहन आचार्यले भने जित हात पारे।
रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित आचार्य नेताभन्दा ठेकेदारका रुपमा चिनिएका व्यक्ति हुन्। २५ वर्षअघि नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका उनी त्यसपछि राजनीतिभन्दा व्यवसायमा सक्रिय भए। केही महिनाअघिबाट मात्र उनी कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। यसअघि कुनै निर्वाचनमा प्रतिस्पर्धा नगरेका उनी रसुवामा नयाँ शक्ति पार्टीको सहयोगमा विजयी भए।
आचार्य १४ हजार ४ सय ५३ मतसहित विजयी भएका हुन्। प्रमुख प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालले १० हजार २ सय ७८ मत पाए। आचार्य रसुवा कन्ट्रक्सनका सञ्चालक हुन्।
५. एलपी साँवा लिम्बू : मेनपावर व्यवसायी
एलपी साँवा लिम्बूको परिचय पार्टीको नेताभन्दा मेनपावर व्यवसायीको नेताको रुपमा छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रहेका लिम्बू ०७० सालबाट मात्र सक्रिय राजनीतिमा लागेका हुन्। दोस्रो संविधानसभा निर्वाचन उनी झापामा थोरै मतले पराजित भए। यस पटकको निर्वाचनमा पनि उनले एमालेबाट टिकट पाउँदै १६ हजार ६ सय ९३ मतान्तरले विजयी भए।
लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत पाए। ग्लोबल अलायन्स मेनपावरका सञ्चालक रहेका उनी एमाले निकट व्यापारीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी संघको प्रदेश १ का संयोजक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।