काठमाडौं- राजपा छाड्दै सूर्य चिह्नबाट चुनाव लडेर कपिलवस्तु २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका बृजेशकुमार गुप्तले नेकपा एमालेभित्रै रहेर मधेसका मुद्दामा लड्ने बताएका छन्।
गुप्तले नेपाल लाइभसँग कुरा गर्दै मधेसका मुद्दामा पार्टी बाहिर जान नमिल्ने भन्दै पार्टीभित्रै संघर्ष गर्ने बताएका हुन्। उनले एमाले पार्टी मधेसको दुस्मन नभएर केही नेताहरुको बोली मात्र दुश्मन रहेको पनि बताए।
‘मधेसप्रति वक्रदृष्टि भएका एमाले नेताहरुलाई सम्झाएर अगाडि बढिन्छ। त्यही अनुसार चुनावअघि सम्झौता भएको छ’, उनले भने, ‘मधेसमा उत्पीडन छ, यसका लागि अब बन्ने सरकार र पार्टीले सम्झौताअनुसार इमान्दारीपूर्वक अघि बढ्नुपर्छ।’
उनले चुनावको बेला इमान्दारीपूर्वक सहमति कार्यान्वयन गर्दा दुई तिहाइ आए जस्तै मधेसको मुद्दामा पनि त्यस्तै इमान्दारीसाथ काम गर्नुपर्नेमा जोड दिए।
गुप्तले अहिलेको जनादेश देशलाई स्थिरता र समृद्धितर्फ अघि बढाउन आएको भन्दै विकासका एजेन्डालाई प्राथमिकता दिनुपर्ने औंल्याए।
‘अहिलेको जनादेश विकास र समृद्धिका लागि हो,’ उनले भने, ‘त्यसकारण अब भ्रष्टाचारलाई न्यूनीकरण गर्दै इमान्दार राजनीति गर्नुपर्छ।’ उनले विगतमा जस्तो ४/४ महिनामा मन्त्री फेरेर भ्रष्टाचार गर्ने अवस्थाको अब अन्त्य गर्नुपर्ने बताए।
उनले एमालेसँगको सहकार्य जितका लागि नभई देशको हितका लागि गरेको भन्दै आफ्नो बचाउ समेत गरे।
चुनावमा निर्वाचित भएपछि अहिलेसम्म एमाले अध्यक्ष केपी ओलीसँग कुनै कुराकानी पनि नभएको उनले जानकारी दिए।
‘मेरो उहाँसँग कुराकानी भएको छैन,’ उनले भने, ‘उहाँले पनि जितेपछि फोन गर्नुभएको छैन। मैले पनि फोन गरेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।