काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।
अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि जिकिर गरे। चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराउँदै उनले चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दाबी गरे।
‘चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट राष्ट्र र जनतालाई दुःख र क्षति मात्रै हुन्छ।,’ अध्यक्ष दाहालको आग्रह छ, ‘हामी सबैले मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न म सबै कम्युनिष्ट घटकहरुलाई पनि आफ्नो पार्टीमा आउन आह्वान गर्दछु।’
अध्यक्ष दाहालले मुलुकमा समाजवादको आधार तयार पार्ने गरी सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैमा समाहित भएर मात्रै पिछडिएका जनतालाई समृद्ध बनाउन सकिने उल्लेख गरे।

उनले राईलाई पार्टीमा प्रवेश गराउँदा आफूलाई घर छाडेर हिँडेको छोरो फेरि घर फर्किएको अनुभूति भएको धारणा राखे। अध्यक्ष दाहालले राईलाई पार्टीभित्र उचित जिम्मेवारी दिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा राईले द्वन्द्वबाट देश र जनताको हित नहुने निष्कर्षमा पुगेपछि आफू नेकपामा प्रवेश गरेको बताए। ‘म कुनै डर, धाक, धम्कीबाट सुरक्षित हुनका लागि नेकपामा आएको होइन,’ राईको स्पष्टीकरण थियो, ‘देश र जनताको हितमा केही गर्न सकिन्छ भनेर नेकपामा प्रवेश गरेको हुँ।’
राईले पार्टीभित्र आफूले देश र जनताको हितका लागि सकेको योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।