काठमाडौं– प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १ सय ६५ मध्ये १ सय ६४ स्थानको नतिजा आइसकेको छ। महिला प्रतिनिधित्व निकै न्यून देखिएको विजयीको सूचीमा हालसम्म ६ महिलाले प्रतिनिधिसभाका लागि स्थान सुरक्षित गरेका छन्। अब प्रतिनिधिसभाको परिणाम आउन बाँकी रहेको एकमात्र क्षेत्र सुनसरी ३ मा जारी गणनामा प्रतिस्पर्धी उम्मेदवारसँग कडा टक्करमा रहँदै महिला उम्मेदवारकै अग्रता छ।
प्रदेश १ बाट एक, प्रदेश ३ बाट एक, प्रदेश ४ बाट तीन र प्रदेश ७ बाट एकजना निर्वाचित भएका हुन्। प्रदेश २, ४ र ६ बाट कोही पनि महिलाले चुनाव जितेका छैनन्। यो प्रत्यक्षतर्फको प्रतिनिधित्व हो, पछि समानुपातिक प्रणालीबाट सो क्षेत्रबाट महिला प्रतिनिधित्व हुन सक्नेछ।
अहिलेसम्म जितेका ६ महिला उम्मेदवार:
पवित्रा निरौला (एमाले) - झापा २
पम्फा भुसाल (माओवादी केन्द्र) - ललितपुर ३
दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा) - प्यूठान १
कमला रोका (माओवादी केन्द्र) - रुकुम पूर्व १
बिना मगर (माओवादी केन्द्र) - कञ्चनपुर १
पद्माकुमारी अर्याल (एमाले) (स्याङ्जा २)
अग्रता
भगवती चौधरी (एमाले) – सुनसरी ३
सुनसरी ३ मा एमाले नेतृ भगवती चौधरीसँग कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार प्रतिस्पर्धामा छन्।
निकै रोचक प्रतिस्पर्धा रहेको भिडन्तमा भगवतीले थोरै मतान्तरले अग्रता लिइरहेकी छिन्। पछिल्लो अपडेट अनुसार भगवतीले ३३ हजार ५ सय ७० मत प्राप्त गर्दा गच्छदारले ३२ हजार ५ सय २६ मत ल्याएका छन्। यस हिसाबले केवल ५० मतको अन्तर छ।
०६४ सालमा मन्त्रिपरिषद्बाट मनोनीत सभासद भएकी चौधरी ०७० सालमा भने तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष रहेका गच्छदारसँग पराजित भएकी थिइन्। यस पटक चौधरीले हारको बदला लिँदै प्रतिनिधिसभामा महिला जितको संख्या थप्नेछिन् वा गच्छदारले जित दोहोर्याउनेछन्, त्यो हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।