काठमाडौं- पहिरोले पुरिएर र चट्याङका कारण रोल्पा र मकवानपुरमा २ महिलाको मृत्यु भएको छ।
रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा लुग्री गाउँपालिकाकी गौमाला माझीको मुत्यु भएको हो। शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
पहिरोका कारण गाउँपालिकाको कार्यालयमा समेत क्षति पुगेको बताइएको छ। अन्दाजी ४८ वर्षीया माझीको शव डोजर प्रयोग गरेर निकाल्ने प्रयास भइरहेको छ। माझी ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए। उनका परिवार भने सकुशल रहेको बताइएको छ।
माझीसँगै उनको घरसमेत पहिरोमा पुरिएको छ। पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुर्याएको छ भने २ निजी मोटरसाइकलसमेत पुरेको छ। सरकारी नम्बरप्लेटको मोटरसाइकललाई पहिरोले क्षति पुर्याएको छ।
गाउँपालिकाको भूँइतलाको २ वटै सटर पूर्णरूपमा पुरिएको छ।
यसैबीच चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ। शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छिन्। चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको हो।
कान्छीमाया स्याङ्तान घाइते भएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार घाइते स्याङ्तानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, चट्याङ लागेर सन्तलाल दोङको घरमा लागो लागेको स्थानीयवासीले जानकारी दिएका छन्। २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो। चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।