जनकपुर- दलित समुदायका छोरीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न प्रदेश २ सरकारले प्रदेशका ८ वटै जिल्लाका सदरमुकाममा दलित छात्रावास निर्माणकार्य सुरु गरेको छ।
‘बेटी पढाऔँ, बेटी बचाऔँ’ तथा छोरी जीवन बीमा कार्यक्रमजस्ता लोकप्रिय अभियान सुरु गरेको प्रदेश–२ सरकारले प्रदेशमा पर्ने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दलित छात्रावास निर्माण गर्न सुरु गरेको हो।
प्रदेश २ सरकारले जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पस, राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, सर्लाही क्याम्पस मलङ्गवा, बाराको कलैयास्थित राष्ट्रिय माध्यमिक विद्यालय सिस्वा मोहनपुर र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको जग्गामा दलित छात्रावास निर्माण गर्न लागिएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले भौतिक विकास कार्यालयको नाममा पठाएको पत्रमा जनाएको छ।
‘समृद्ध नेपाल, सुखी नेपाली’सहितको राष्ट्रिय अवधारणालाई सफल पार्न र शिक्षा विकासलाई संवेदनशील विषयका रुपमा लिँदै चालू आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ का ८ वटै जिल्लामा दलित छात्रावास निर्माण सुरु गरिएको पत्रमा उल्लेख छ।
यसैबीच प्रदेश–२ सरकारको लगानीमा सप्तरीको इटहरी विष्णुपुर गाउँपालिका–५ रञ्जितपुरमा निर्माण हुन लागेको दलित छात्रावासको सो वडाका वडाध्यक्ष बहादुर सदा र राष्ट्रिय विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले संयुक्तरुपमा शिलान्यास गरे।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसले उपलब्ध गराएको करीब दुई कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको दलित छात्रावास भवन एक वर्षभित्र सकिने निर्माण समितिका अध्यक्ष दिनेश शर्मा खत्वेले जानकारी दिए।
प्रदेश–२ सरकारको ९९ लाख ५० हजार रुपैयाँको लागतमा सो छात्राबास निर्माण भएपछि दलित छात्रा उच्च शिक्षातर्फ आकर्षित हुने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।