काठमाडौं – प्रतिनिधिसभा प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई दुई तिहाई स्थानमा जित हासिल गरेको छ ।
कुल १६५ निर्वाचन क्षेत्रमध्ये आज साँझसम्म सार्वजनिक १६१ स्थानको अन्तिम परिणाममा गठबन्धनले हालसम्म ११२ स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेले ७६ र माओवादी केन्द्रले ३६ स्थानमा विजय हासिल गरको छ।
नेपाली काँग्रेसको २२ स्थानमा विजयी भएको छ भने संघीय समाजवादी फोरम ११ र राष्ट्रिय जनता पार्टी नेपाल ११ स्थानमा विजयी भएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नयाँ शक्ति पार्र्टी नेपाल एक, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ। स्वतन्त्रतर्फ एक उम्मेदवारले पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
सुनसरी क्षेत्र नं ३, स्याङ्जा क्षेत्र नं १ र २, तथा कैलाली क्षेत्र नं २ मा मतगणना जारी छ। मतगणना जारी रहेका यी स्थानमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्।
यसैगरी प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ पनि वाम गठबन्धनले दुईतिहाई भन्दा बढी स्थानमा जित हासिल गरेको छ । प्रदेशसभाका कुल ३३० निर्वाचन क्षेत्रमध्ये ३२६ स्थानको अन्तिम परिणाममा गठबन्धनले २४१ स्थानमा जित हासिल गरेको छ।
प्रदेशसभातर्फ पनि एमाले १७० र माओवादी केन्द्र ७१ स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेसले ३८ स्थानमा जित हासिल गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।