काठमाडौँ- नेपालमा पहिलो पटक कोरियाली परिकार प्रतियोगिता सम्पन्न भएको छ। नेपालस्थित दक्षिण कोरियाली दूतावासको आयोजनामा शुक्रबार काठमाडौँमा आयोजित प्रतियोगितामा कोरियाली परिकार बनाउन ९ जनाले सहभागिता जनाएका थिए।
कोरियाली दूतावासले गत वर्ष इच्छुक नेपालीहरुलाई कोरियाली परिकारसम्बन्धी प्रशिक्षण दिएको थियो। उक्त प्रशिक्षणबाट छनौट भएकाले प्रतियोगीले सहभागिता जनाएको कार्यक्रममा ज्ञानेन्द्र केसी प्रथम भए। कुमार श्रेष्ठ दोस्रो र अना सिरवाल तेस्रो भईन्। प्रथम हुनेलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। त्यस्तै, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरियो।
कार्यक्रममा बोल्दै नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले नेपालीमाझ कोरियाली खाना परिचित गराउन प्रतियोगिता आयोजना गरिएको बताए। ‘खानाको माध्यमबाट कोरिया र नेपालबीचको सम्बन्ध थप प्रगाढ बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छु,’ उनले भने।
प्रतियोगितामा कोरियाको परम्परागत परिकारमध्ये छाब्जे बनाएको थियो। छाब्जे १७औँ शताब्दीमा छोसन राज्य व्यवस्थामा ख्वाङहेगुन राजको शासनकालमा राजा खानदानको भोजभतेरको पहिलो पटक प्रयोग गरिएको खाना हो। त्यसपछि कोरियाली भोजभतेरमा छाब्जेको प्रयोग गरिँदै आएको छ।
कोरियाली खानामा फिबिमफाब (मिक्स राईस) छिम (करङको परिकार), प्यान केक, युख्ह्वे, खिम्छी आदि प्रख्यात परिकारमा पर्छन्। बनाएको लामो समय पश्चात् पनि खान मिल्ने खिम्छीमा क्यान्सर रोग प्रतिरोधात्मक क्षमता रहेको भनेर परिचित छ।
कोरियाली परिकार प्रतियोगिताको माध्यमबाट भविष्यमा अझै धेरै नेपाली जनताले कोरियाली परिकार मन पराउन अपेक्षा गरिएको राजदूत पार्क योङ सिकले बताए।
‘खानाको परिकारले मानिसको रहनसहन रितिरिवाज मात्र नभइ, एक देशको इतिहास र संस्कृति बुझ्ने अवसर प्राप्त हुन्छ भन्ने लागेको छ। खानाका माध्यमबाट कोरियाली संस्कृति नेपालमा परिचित गराउँदै दुई देशका जनताबीच स्थापित सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाउन सहयोग पुग्नेछ,’ उनले भने।
कार्यक्रममा प्रतियोगिताको साथै केपप टीमले कोरियाली नृत्य प्रस्तुत गरेका थिए। गत साता काठमाडौँमा आयोजना भएको कोरियाली नृत्य प्रतियोगितामा उत्कृष्ट भएका समूहले शुक्रबार प्रस्तुति दिए। कोरियाली परिकार, केपप, कोरियाली ड्रामा, कोरियाली चलचित्र अन्तराष्ट्रिय क्षेत्रमा लोकप्रिय छ। कोरियाली परिकार सुन्दरताका सहयोगी, स्वादिलो तथा स्वस्थ भनेर परिचित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।