काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरी शनिबार अपरान्ह स्वदेश फर्किएका छन्।
उपराष्ट्रपति पुन अष्ट्रियाको भियनामा आयोजित जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते गएका थिए।
उपराष्ट्रपति पुनले भियनामा रहँदा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग भेट गर्नुका साथै दुइपक्षीय हित र पारस्परिक सहयोगका विषयमा छलफल गरेका थिए।
भेटवार्तामा उपराष्ट्रपतिले पुनले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए।
उपराष्ट्रपति पुनले जेठ १४ गते भियनामा आयोजित जलवायु सम्बन्धी आर-२० अष्ट्रियन विश्व शिखर सम्मेलनको उच्चतम सत्रमा संबोधन गरेका थिए।
आफ्नो सम्बोधनमा उपराष्ट्रपति पुनले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनका लागि नेपालले गरिरहेको पहलका बारेमा विश्व समुदायलाई जानकारी गराएका थिए।
उनले सन् २०१८ देखि २०२८ सम्मलाई नेपालले उर्जा तथा जलस्रोतको दशक घोषणा गरेको र १० वर्षमा जलविद्युत र नवीकरणीय उर्जाबाट १५ हजार मेगावाट उर्जा उत्पादन गरेर देश विकाशको प्रक्रिया अगाडि बढाएको जानकारी गराएका थिए।
भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी हस्तमाली पुन र वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, भियनास्थित नेपाली राजदूत लगायत उपराष्ट्रपतिको कार्यालय, पराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।