जनकपुर- संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रदेश २ ले संघीयताको कार्यान्वयनको अगुवाई गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
महोत्तरीको बर्दीवासमा रेडियो नेपालको प्रदेश २ प्रादेशिक प्रशारण सेवाको उद्घाटन समारोहमा सम्बोधन गर्दै संचारमन्त्री बाँस्कोटाले संघीयताको मांग यसै भूमिबाट भएको हुँदा संघीयता कार्यन्वयनको अगुवाइ पनि यस प्रदेशबाट हुनु पर्ने बताएका हुन्।
'संघीयताको सफलताको लागि प्रदेश २ ले चाल्ने कदम अन्य प्रदेशका साथै संघका लागिसमेत मार्गदर्शक हुनेछ,' उनले भने।
सो अवसरमा सलहेश फुलवारीमा बैशाख १ गते मात्र फुल्ने सलहेश फुल (हारुनको फुल)को हुलाक टिकट प्रकाशन गरिने प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सूत्रधार बन्न सुझाव दिएका छन्।
मुख्यमन्त्री राउतले मुलुकलाई एउटै भाषा, एउटै भेषको मानसिकता बाट माथि उठाउन प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्नु स्वागत योग्य रहेको बताए।
स्थानीय भाषामा प्रशारण गरिने समाचार, सूचना, मनोरंजन तथा सामग्रीहरुले सम्पूर्ण नेपालीहरुमा रेडियो नेपाल प्रतिको अपनत्व बढने उल्लेख गदै मुख्यमन्त्री राउतले मैथिली , भोजपुरी , बज्जिका, मगहीका साथै हिन्दी थारु लगायतका भाषाहरुलाई समेत प्राथमिकतामा राख्न आग्रह गरे।
प्रादेशिक प्रशारणको शुभारम्भपछि केन्द्रीय प्रशारणमा रहेको मैथिली, भोजपुरीलगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन मुख्यमन्त्री राउतले आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।