काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले अब छिट्टै आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच एकता हुने बताएका छन्।
शङ्खरापुर नगरपालिकाका स्थानीयवासीसँग आज भेटघाटपछि साँखुमा आयोजित सभामा उनले मत परिणामको अन्तिम विवरण आएपछि एकताको प्रक्रिया शुरु गरिने बताए।
हालै सम्पन्न निर्वाचनमा विजयी भएपछि नेता नेपालले त्यस क्षेत्रका जनतालाई दुवै पार्टी एकता हँदैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा गरिने जानकारी गराए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले मुलुकमा संक्रमणकालको अन्त्य भएको बताउँदै अब पूर्वाधार विकास तथा निर्माणका माध्यमबाट देशमा आर्थिक समृद्धिका कार्यलाई अगाडि बढाइने बताए।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेता नेपालले साँखुको सम्पदास्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाए।
यसअघि नाङ्लेभारे तथा जर्सिङपौवाका विभिन्न क्षेत्रमा बाजागाजासहित विजयी जुलुस निकालिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।