काठमाडौं– उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका सुरेशकुमार राईसँग ७ हजार ९६ मतान्तरले पराजित भएका नेपाली कांग्रेसका नारायणबहादुर कार्कीले विजयी उम्मेदवारलाई अस्पतालबाटै शुभकामना दिएका छन्।
निर्वाचनअघि चुनाव प्रचारमा जाँदा एम्बुस विस्फोटमा घाइते भएका कार्की मंसिर १३ देखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्। खुट्टामा तार बारिएका उनी अझै डेढ महिना अस्पतालको बेडबाट उठ्न नसक्ने अवस्थामा छन्।
मंगलबार अस्पतालमा नेपाल लाइभसँग छोटो कुराकानी गर्दै कार्कीले माओवादी केन्द्रका विजयी उम्मेदवार राईलाई बेडबाटै शुभकामना दिए। उनले राईलाई जनताको भावना बुझेर काम गर्न पनि सुझाव दिएका छन्।
उनले लोकतन्त्रिक अभ्यास गर्दा हारजित भइरहने भन्दै थपे, ‘उहाँले जनताको अभिमत बुझेर काम गर्नुहोस्। मेरो शुभकामना छ।’
उनले बम र एम्बुसको आतंकमाझ जनता निर्वाचनमा सहभागी भएको भन्दै लोकतान्त्रिक अभ्यास गर्दा भय र त्रास खेप्नु विडम्बना भएको समेत उल्लेख गरे।
कार्कीले चुनावी परिणाम खस्किनुमा पार्टी नेतृत्वको कमजोरी देखिए पनि वाम गठबन्धनका कारण कांग्रेस कार्यकर्ता एकढिक्का भएकोमा खुसी व्यक्त गरे। उनले केन्द्रीय नेतृत्व निर्वाचनअघि प्रचारप्रसारका क्रममा सबै ठाउँमा पुग्न नसकेको औंल्याए।
६८ वर्षीय कार्कीले कांग्रेसभित्र शुद्धीकरणको आवश्यकता भइसकेकोमा समेत जोड दिए।
‘कांग्रेस अहिले अप्ठेरो अवस्थामा छ। त्यसैले युवाहरु सबैभन्दा सक्रिय हुन आवश्यक छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।