धनगढी- सुदूरपश्चिम प्रदेशमा काम गर्ने उमेर समूहका ५९ हजार बढी जनसंख्या बेरोजगार अवस्थामा रहेको एक अध्ययनले देखाएको छ। १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यालाई काम गर्ने समूहका रुपमा राखिएको छ।
सुदूरपश्चिम प्रदेशमा १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या १८ लाख ८३ हजार रहेकोमा ५९ हजार जनसंख्या बेरोजगार रहेको अध्ययनले देखाएको हो।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण (तेस्रो) नतिजा अनुसार प्रदेशमा काम गर्ने उमेर समूहको जनसंख्यामध्ये सहरी क्षेत्रमा बढी बेरोजगार रहेका छन्। सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० हजार र ग्रामीण क्षेत्रमा १९ हजार जनसंख्या बेरोजगार रहेको श्रमशक्ति सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
अध्ययन प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा बेरोजगारी दर ११ दशमलब ५ प्रतिशत रहेको छ। प्रतिवेदनमा भनिएको छ- 'सुदूरपश्चिम प्रदेशमा पुरुष र महिलाको बेरोजगारी दर ११ दशमलब ५ प्रतिशत रहेको छ। सहरमा ११ दशमलव ३ प्रतिशत र ग्रामीण क्षेत्रमा ११ दशमलब ९ प्रतिशत छ।'
श्रमशक्ति सर्वेक्षण (तेस्रो) नतिजा अनुसार देशभरी सुदूरपश्चिममा सबैभन्दा कम रोजगार दर रहेको छ। तथ्यांक अनुसार सबैभन्दा बढी रोजगार भएको जनसंख्या प्रदेश नम्बर ३ मा छन्। प्रदेश नम्बर ३ मा रोजगार दर ४३ दशमलब ८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४ दशमलव १ प्रतिशत रहेको छ।
सुदूरपश्चिम प्रदेशका ४ लाख ५५ हजार जनता रोजगार
सुदूरपश्चिम प्रदेशमा दुई लाख ९४ हजार पुरुष र एक लाख ६१ हजार महिला गरी ४ लाख ५५ हजार जनसंख्या रोजगार रहेको तथ्यांकमा उल्लेख छ। बसोबासका आधारमा ३ लाख १० हजार सहरी क्षेत्रमा र १ लाख ४४ हजार ग्रामीण क्षेत्रका जनताले रोजगारी गर्ने जनाइएको छ।
‘सुदूरपश्चिम प्रदेशको रोजगारीमा रहेको जनसंख्यामध्ये ६८ प्रतिशत सहरमा र ३२ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘रोजगारी गर्ने पुरुषहरूमध्ये सहरमा ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ३० प्रतिशत रहेका छन् भने महिलाहरूमध्ये ६५ प्रतिशत सहरमा र ३५ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन्।’
प्रतिवेदनले प्रदेशमा श्रमशक्ति सहभागिता दर पनि उत्साहजनक नरहेको देखाएको छ। देशभरिमै श्रमशक्तिमा सहभागिता दर सबैभन्दा बढी ४७ दशमलब एक प्रतिशत प्रदेश नम्बर ३ मा रहेको र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७ दशमलब ३ प्रतिशत रहेको देखाएको छ।
पुरुष जत्तिकै तलब/ज्याला पाउँदैनन् महिला
सुदूरपश्चिम प्रदेशमा श्रमशक्तिमा सहभागिता दरमा पुरुष ४५ दशमलब ६ प्रतिशत र महिला १५ दशमलब ७ प्रतिशत रहेको छ। यस प्रदेशमा मुख्य काममा अक्सर काम गर्ने समय हप्तामा ४३ घन्टा रहेको छ, जसमा पुरुषको ४७ घन्टा र महिलाको ३७ घन्टा रहेको उल्लेख छ।
प्रतिवेदनले प्रदेशमा औपचारिक क्षेत्रमा ३३ दशमलब ३ र अनौपचारिक क्षेत्रमा ६६ दशमलब ७ प्रतिशत जनता राेजगारीमा आवद्ध छन्। औपचारिक र अनौपचारिक रोजगारीलाई विभाजन गर्दा क्रमशः १४ दशमलब ८ प्रतिशत र ८५ दशमलब २ प्रतिशत रहेको पाइएको विभागले जनाएको छ।
प्रदेशमा महिला र पुरुषले समान कामको समान ज्याला/तलब नपाउने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदन अनुसार प्रदेशमा औसत मासिक आम्दानी १६ हजार ३ सय ५६ रहेकोमा पुरुषले १७ हजार ४ सय ४२ र महिलाले १३ हजार ५ सय ८३ रुपैयाँ आम्दानी गर्छन्। जसअनुसार पुरुषको तुलनामा महिलाले ३ हजार ८ सय ५९ रुपैयाँ कम कमाउँछन्।
कृषि, वन र माछापालनमा धेरै जनता आश्रित
विभागले तेस्रो सर्वेक्षण २०१७ जुलाईदेखि २०१८ जुन अर्थात २०७४ असारदेखि २०७५ जेठसम्म तथ्यांक संकलन गरेको तथ्यांक विभाग महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख गोविन्द न्यौपानेले बताए।
निमित्त प्रमुख न्यौपानेका अनुसार प्रमाणिक औद्योगिक वर्गीकरणअनुसार रोजगारीको वितरण हेर्दा सबैभन्दा धेरै व्यक्तिहरू संलग्न ५ वटा क्षेत्रहरूमा कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकलको मर्मतसम्भार, उद्योग निर्माण र शिक्षामा क्रमशः २१ दशमलब ५ प्रतिशत, १७ दशमलब ५ प्रतिशत, १५ दशमलब १ प्रतिशत, १३ दशमलब ८ प्रतिशत र ७ दशमलब ९ प्रतिशत रहेको छ।
प्रामाणिक पेसाको वर्गीकरणअनुसार ३ वटा पेसा समूहहरूमा सेवा तथा बिक्री, प्रारम्भिक आधारभुत सेवा र हस्तकला र त्यससँग सम्बन्धित व्यापार गर्ने काम पर्दछन्। यी समूहमा क्रमशः २३ दशमलब ८, २० दशमलब ३ र १९ दशमलब ६ प्रतिशत जनता काम गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।