काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा कलेजो प्रत्यारोपण भएको छ। कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो।
डा भण्डारीका अनुसार ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी हुन्। अस्पतालले १६ घन्टा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे मात्र सकिएको थियो।
शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको थियो। सर्जरीमा डा भण्डारीको नेतृत्वमा १२ जना सामेल थिए। एनेस्थेसियामा डा अमित भट्टराई र डा पंकज जोशी, कलेजो प्रत्यारोपणको क्रिटिक केयरमा डा सुवाश आचार्य र डा प्रमेश सुन्दर श्रेष्ठ, डा राहुल पाठक (लिभर ट्रान्सप्लान्ट हेपाटोलोजी), रेडियोलोजीमा डा दिनेश चटौत, डा अजित थापाले भूमिका निभाएका थिए।यसैगरी, प्याथोलोजीतर्फ डा अनिलदेव पन्त, पेडियाट्रिक लिभर ट्रान्स्प्लान्ट हेपाटोलोजीमा डा सुर्यबहादुर थापा खटिएका थिए।
अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो। तर, केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन।
शिक्षण अस्पतालका सर्जन डा भण्डारीले दक्ष र चुस्त टिम भएकाले अस्पतालमा कलेजो प्रत्यारोपण कार्य नियमित हुने बताए। शुक्रबार भएको प्रत्यारोपणमा सहयोग गर्न भारतको एपोलो अस्पतालबाट टोली आएको डा भण्डारीले जानकारी दिए।
अस्पतालले ५ वर्षको प्रयासपछि प्रत्यारोपण सेवा सुरु गरेको हो।
सामान्य अर्थमा भन्नुपर्दा कलेजो फेल भएका बिरामीको बिग्रिएको कलेजोलाई शल्यक्रियाको माध्यमबाट निकालेर त्यस ठाउँमा अर्को कलेजो राख्ने कार्य नै कलेजो प्रत्यारोपण हो। कलेजो मानव शरीर भित्रको सबैभन्दा ठूलो अंग हो। यो मुटुको तल र पेटको माथिल्लो भागमा हुन्छ। कलेजो ठूलो र धेरै नसाहरु जोड्नुपर्ने भएकाले कलेजो प्रत्यारोपणलाई विश्वमै जटिल प्रत्यारोपणका रुपमा लिइन्छ।
कलेजो कसरी दान गर्ने?
मानव शरीरमा एउटा मात्र कलेजो हुने भएकाले स्वस्थ मानिसको कलेजो अर्को बरामीलाई कसरी दिन मिल्छ भन्ने जिज्ञासा धेरैले गर्ने गर्छन्। वास्तवमा यो जिज्ञासा स्वभाविक पनि हो।
बिरामी मानिसमा दुई प्रकारका दाताबाट कलेजो प्रत्यारोपण गरिन्छ। एउटा मस्तिष्क मृत्यु भएकाहरुको शरिरबाट पुरै कलेजो निकालेर बिरामीमा राख्ने र अर्को भनेको जिवित मानिसको कलेजोको केही अंश काटेर बिरामीमा राख्ने हो।
मस्तिष्क मृत्यु भएकाहरुबाट निश्चित समयभित्र निकालेको पुरै कलेजो बिरामीको शरीर भित्र राख्ने गरिन्छ। त्यस्तै स्वस्थ व्यक्तिको शरिरबाट कलेजोको टुक्रा काटेर बिरामीमा राख्ने गरिन्छ।
कलेजो भनेको नङ र कपाल जस्तै बढ्दै जाने अंग हो। एउटा स्वस्थ मानिसको शरिरमा भएको कलेजोको ३० प्रतिशत भाग मात्र छ भने पनि त्यसले पूर्ण रुपमा काम गर्छ। त्यसकारण चिकित्सकले स्वस्थ मानिसको शरीरबाट कलेजोको ३० प्रतिशत भन्दा बढी भाग काटेर बिरामीमा प्रत्यारोपण गर्ने गर्छन्। यसरी काटिएको कलेजोले ५ देखि ७ दिनमा पूर्णरुपमा काम गर्ने अवस्थामा आउँछ भने आकार पनि ३ महिनाभित्रमा पहिलाको जत्रै हुन्छ।
कलेजो फेल हुने कारण र लक्षण
कलेजो विभिन्न रोग तथा समस्याका कारण फेल हुने गर्छ। तर, मुख्यतया कलेजो फेल हुने ३ वटा प्रमुख कारण छन्। ति हुन् हेपाटाइटिस बी, हेपाटाइटिस सी र मदिरा सेवन।
कुनै देशमा हेपाटाइटिस बी र कुनैमा सी का कारण धेरैको कलेजो फेल भएको पाइएको छ भने नेपालमा भने मदिरा सेवनको कारण धेरैको कलेजो फेल हुने गरेको चिकित्सकहरु बताउँछन्। यसका साथै पछिल्लो समयमा मोटो मानिसहरुको कलेजोमा हुने बोसो (फ्याट्टी लिभर) पनि कलेजो फेल हुने कारकमध्ये अग्रस्थानमा आउन थालेको छ। कलेजाको क्यान्सर र अन्य संक्रमणले पनि कलेजो फेल हुन्छ। हेपाटाइटिस बी कलेजो क्यान्सरको प्रमुख कारण हो।
कलेजो फेल भएपछि बिरामीमा जन्डिस हुने, पेटमा पानी जम्ने, थकाइ बढी लाग्ने, कमजोर हुने, खानामा अरुची, वाकवाकी लाग्ने, तौलमा कमी आउने, शरीर चिलाउने, दिशा कालो हुने, दिशामा रगत आउने, रगत छाद्ने, बेसुरको हुनेजस्ता लक्षण देखिन्छ। यस्तो अवस्थामा तुरुन्तै चिकित्सककोमा गएर आवश्यक उपचार अगाडि बढाइहाल्नु पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।