गोरखा– प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्रमा दुवैमा हार व्यहोरेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने धेरै मत पाएको छ। कांग्रेसले समानुपातिकमा ३५ हजार ४ सय १९ मत ल्याएको छ। समानुपातिकतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र आएको छ।
माओवादीले ३४ हजार ७ सय ३३ मत प्राप्त गरेको छ। समानुपातिकमा तेस्रो स्थानमा आएको छ नयाँ शक्ति पार्टी। नयाँ शक्तिको पोल्टामा १८ हजार १३ मत परेको छ। गोरखामा समानुपातिकतर्फ नेकपा एमाले भने चौथो स्थानमा पुगेको छ। एमालेले १७ हजार ८ सय १३ मत पाएको छ। जिल्लामा संगठन नै नभएको विवेकशील साझाले ७ सय ६३ मत समानुपातिकबाट पाएको छ।
कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ मा १९ हजार ८० मत पायो भने माओवादी केन्द्रले १७ हजार १ सय २५, नेकपा एमालेले ११ हजार ७ सय ८० र नयाँशक्तिले ६ हजार ५ सय ९९ मत पाएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले बढी मत पाएको छ। प्रत्यक्षमा नयाँ शक्तिका बाबुराम भट्टराईसँग केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पराजित भए पनि समानुपातिकमा भने माओवादीले राम्रै मत पायो। कुल ६० हजार १ सय ९ मत खसेकोमा माओवादीले १७ हजार ६ सय ८ मत प्राप्त गर्यो। यस्तै, कांग्रेसले १६ हजार ३ सय ३९, नयाँशक्तिले ११ हजार ४ सय १४ र एमालले ६ हजार ३६ मत ल्याएका छन्।
उता, प्रदेशसभाको समानुपातिकतरि भने माओवादी केन्द्रले बढी मत प्राप्त गरेको छ। प्रदेशसभामा माओवादीले ३२ हजार ९ सय ३३ मत पाएको छ भने कांग्रेसले ३२ हजार ५ सय ९५ मत ल्याएको छ। यस्तै, नयाँ शक्तिले १८ हजार ८ सय ७ मत पाएको छ भने नेकपा एमालेले १७ हजार १ सय २३ मत प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।