फाइल तस्बिर।
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको साताव्यापी भ्रमण सकेर शनिबार दिउँसो स्वदेश फर्किँदै छन्।
स्थानीय समय अनुसार शुक्रबार राति १०ः५५ मा कतार एयरवेजको उडानबाट भियनाबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपनि पुन शनिबार दिउँसो ३ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछन्।
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए।
अष्ट्रियामा रहँदा उपराष्ट्रपति पुनले जेठ १३ गते अष्ट्रियाका राष्ट्रपति बेलेनसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। जेठ १४ गते जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपस्थित भएर उनले समूहगत छलफलमा नेपालका तर्फबाट भाग समेत लिएका थिए।
यस क्रममा उपराष्ट्रपति पुन अष्ट्रियाको टेरोल प्रान्तको इन्सब्रुक सहरमा भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा सहभागी भएका थिए।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका नीजि सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, उपराष्ट्रपतिको कार्यालयका सहसचिव तेजराज आचार्य लगयत सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।