

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले दुई वटा मुद्दामा कारबाही अघि बढाएको छ । ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थसम्बन्धि ऐनअनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले गत १८ गते थापा घरदैलो अभियानमा रहेका बेला बुढानिलकण्ठको चपलीमा बिष्फोट गराएका थिए । बिष्फोटमा थापासहित ११ जना घाइते भएका थिए ।
बुधबार बेलुका प्रहरीको बिशेष ब्यूरोले सो पार्टीका ६ जना जिल्लास्तरीय नेताहरुलाई पक्राउ गरेको थियो । प्रहरीले सो पार्टीका जिल्लास्तरीय नेताहरु रवि गोले, विचारमान तामाङ, महेश नेपाली, विगेश लामा र राविज स्याङतानलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त महाराजगंजले उनीहरुमाथि मुद्दा प्रक्रिया अघि बढाएको छ ।
बिष्फोटक पदार्थ ऐन र ज्यान मार्ने उद्योग मुद्दा उनीहरुमाथि चलाइने महाराजगंज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले बताए । ज्यान मार्ने उद्योगमा १० वर्षसम्म तथा बिष्फोटक पदार्थ ऐनमा २ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।
सो समूहले नै राजधानीका अन्य स्थानमा पनि बिष्फोट गराएको थियो । प्रहरीले उनीहरुबाट पेस्तोल तथा बिष्फोटक पदार्थ समेत बरामद गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।