काठमाडौं- आफ्नै साथीको हत्या गरी फरार अभयुक्त १० महिनापछि पक्राउ परेका छन्।
सोलुखुम्बु माकुलुङ-३ छेमसिङ स्थायी घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८, सुन्दरबस्ती भंगालका ३६ वर्षीय छत्र बहादुर कुलुङ राईको हत्या आरोपमा उनका साथी खोटाङ केपिलाशगढी गाउँपालिका-६, दिप्सुङका ३६ वर्षीय 'धिरज' भनिने मोतिधन राई पक्राउ परेका हुन्।
२०७५ भदौ २ गते राती करिब साढे १० बजेको समयमा छत्र बहादुरको हत्या गरी मोतिधन फरार भएका थिए। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले शुक्रबार ललितपुरको गोदावरी नगरपालिका-१३, झरुवारासी गंगटेखोलाबाट पक्राउ गरेको हो।
यसरी भएको थियो हत्या
गत भदाै ५ मा काठमाडौंको टोखा नगरपालिका-३, विष्णुमती फाँटमा रहेको बंगुर फार्ममा छत्र बहादुरको टाउको तथा शरीरको विभिन्न भागहरुमा चोटपटक लागेको अवस्थामा लाश फेला परेको थियो।
अनुसन्धानका क्रममा छत्र बहादुर मोतिधनबीच २०७४ साल चैत्र महिना देखि चिनजान भई विष्णुमतीफाँटमा आ-आफ्नै बंगुर पालन गर्दै आएका खुलेको थियो। घटनाको दिन बिहान मृतक छत्र बहादुर र मोतिधन मिलेर बंगुर काटी दिनभरि सँगै मासु बेच्न गएका र साँझ घर फर्किने क्रममा विष्णुमती पुल नजिकैको होटलमा बसी सँगै रक्सी सेवन समेत गरेको खुलेको प्रहरीले जनाएको छ।
रक्सी सेवनका क्रममा उनीहरुबीच विवाद भएको थियो। सोपश्चात फार्म पुगेका उनीहरुबीचमा झगडा भई हानाहान भएको र साे क्रममा छत्र बहादुरमाथि मोतिधनले बाँसको दाउराले प्रहार गरी हत्या गरेका थिए।
सोपश्चात उनी फरार रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।