फाइल तस्बिर
काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा बस्न आग्रह गरेको छ।
महाशाखाले असोज २५ गते बिहान ६:४० बजे सूचना जारी गर्दै बाढीको बहाव नघटेसम्म नदी छेउछाउ नजान आग्रह गरेको हो।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार बिहान ४:३५ बजे ठूलो बाढी आएको खबर प्राप्त भएको थियो। उनका अनुसार बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार गाउँपालिका–६ स्थित चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएको थियो। त्यसपछि एक्कासि बाढी आएको हो।
बाढीका कारण तल्लो तटीय क्षेत्रका सल्लेरी र जगत बजार जोखिममा परेका छन्। जोखिमका कारण केही स्थानीय बासिन्दा विस्थापित भएका छन्।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए।
बाढी पूर्वानुमान महाशाखाले पनि मोबाइलमा एसएमएस पठाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीको बहाव पास नहुँदासम्म नदी किनारबाट टाढा रहन र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।