काठमाडौं– सामान्य प्रशासन मन्त्री हुँदा चर्चा कमाएका नेकपा एमालेका पुराना नेता लालबाबु पण्डितले प्रतिनिधिसभा निर्वाचन मार्फत आफ्नो ‘क्रेज’ प्रमाणित गरेका छन्।
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला विरूद्ध उम्मेदवारी दिएका पण्डित ६ सय ७५ मतले विजयी भए। उनी आफ्नो पहिलेको ३ नम्बर क्षेत्र छाडेर शेखरसँग प्रतिस्पर्धा गर्न उत्रेका थिए।
मन्त्री हुँदा डिभी/पिआर लिने सरकारी कर्मचारी विरुद्ध कारबाही गरेर चर्चा कमाएका पण्डित सादगीपूर्ण जीवनशैलीका कारण लोकप्रियता कमाए।
लालबाबु ०४८ सालदेखि नै मोरङमा एमालेको संगठनलाई बलियो बनाउन संसदीय अभ्यासमा सक्रिय थिए। अन्य दलका नेता तथा कार्यकर्ताहरू गाडीमा हुइँकिँदै चुनावी अभियानमा जाँदा उनी साइकलमा आफ्नो प्रचार गर्थे।
यसपाली लालबाबुको ‘क्रेज’ किन पनि स्थापित भएको छ भने शेखर जस्तो बलियो प्रतिस्पर्धीलाई उनैको राजनीतिक क्षेत्रमा उनले पराजित गरे। मोरङ ६ मा प्रदेशसभा ‘क’ र ‘ख’ मा एमालेका दुई परिचित अनुहार जीवन आचार्य र रमेशप्रसाद पोखरेल हार्दा प्रतिनिधिसभामा भने एमालेका एक्ला लालबाबु विजयी भए।
मोरङ ६ को प्रदेशसभा ‘क’ मा कांग्रेसका चुमनारायण तबदार र ‘ख’ मा कांग्रेसकै केदार कार्की विजयी भए।
दुई हेभीवेट नेताले प्रतिस्पर्धा गरेको सो क्षेत्रमा ७१ दशमलब ७२ प्रतिशत मत खसेको थियो। कुल १ लाख १० हजार ३ सय २४ मतदाता रहेको मोरङ ६ मा ७९ हजार १ सय २८ मत खसेको हो। त्यसमध्ये लालबाबुले ३३ हजार नौ सय ४१ मत प्राप्त गरे भने शेखरले ३३ हजार २ सय ६६ मत ल्याए।
लालबाबुलाई गाउँबाट मात्र नभई विराटनगरको शहरी क्षेत्रबाट पनि राम्रो मत प्राप्त भएको मोरङ जिल्ला एमाले अध्यक्ष विनोद ढकाल बताउँछन्। क्षेत्र नम्बर ६ मा विराटनगरका वडा नम्बर २, ३, ४, ५, ६, ९, ११ र १२ वडा समावेश थिए।
‘एमालेको बलियो संगठन भएको ठाउँबाट राम्रो मत आउने नै भयो। शहरी क्षेत्रबाट पनि उहाँलाई राम्रो मत प्राप्त भएको छ’, उनले भने।
लालबाबुले ०४८ र ०५६ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट जितेका थिए। उनी ५१ सालमा भने पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।