काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामले नेपाली काग्रेंस बढार्न बाँकी रहेको कुनामा अड्किएको धुलो भएको टिप्पणी गरेका छन्।
झापाको गौरीगन्जमा आयोजित विजयीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘२०४८ र ०५१ सालमा एमाले सरकार आयो भने नुन खान पाइँदैन भनेर हल्ला गरिएकै हो, कम्युनिस्ट शासन आए ६० वर्षभन्दा बुढाबुढीलाई गोली हानेर मार्छन्, बाँच्न पाइँदैन भन्ने हल्ला चलाएकै हुन्,' ओलीले भने, 'हाम्रा विरुद्ध भ्रम छर्नेहरु भुइँ बढार्दा बाँकी रहेको, कुचो नपुगेको कुनाको धुलो भएका छन्।'
ओलीले झापामा आफ्ना उम्मेदवारलाई जिताउन मत दिने एमाले र माओवादीसहित राप्रपा र अन्य पार्टीका मतदातालाई समेत धन्यवाद दिए।
ओलीले निर्वाचनपछि नेपाल अब नयाँ युगमा प्रवेश गरेको बताए। उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले त्यसको परिणामलाई स्वीकार गर्दै सबै पार्टीको सहयोगमा आफू अघि बढ्ने बताएका थिए। निर्वाचन सकिएकाले अब विकास निर्माणमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘अब गाउँपालिकाले विकासका काम गर्छन्, त्यसमा सहयोग प्रदेश सरकारले गर्छ,’ ओलीले भने, ‘म केन्द्रको नेतृत्व गर्दै त्यसको वातावारण बनाउनेछु।’
ओलीले अन्य पार्टीका नेतालाई अरुका लागि काम गरिदिनुपर्ने भएको तर आफूलाई त्यस्तो कुनै दबाब नरहेको दाबी गरे। ‘मेरो अरु केही काम छैन, तास-जुवा खेल्दिनँ, विकास गर्ने हो,' ओली भने, ‘कसैसँग लिनुदिनु नभएपछि म अब विकासमै केन्द्रित हुन्छु, जनताकै लागि सोच्ने हो।’
ओलीले जातीय र क्षत्रीयताको कुरा बन्द गरेर देश विकासमा आउन आग्रह गरे। ‘यहाँ अब कोही मधेसी, पहाडी, जनजाति र अन्य छैनन्, यसरी विभाजन गर्ने कार्य बन्द गरौं,’ उनले भने, ‘सबैको आवश्यकता भनेको विकास र रोजगारी हो, त्यसका लागि जात तथा क्षेत्र विभाजन गर्न पर्दैन।’ उले सबै क्षेत्रमा समान विकासको युग आफ्नो नेतृत्वमा सुरु हुने दाबी गरे।
‘तपाईंहरुले देख्दै जानु हुन्छ, एमालेले विकासको काम कसरी गर्छ,’ ओलीले भने, ‘अब यहाँका खोलाहरुले थाहा पाउनेछन् विकास हुने युग आएको रहेछ, यहाँका सडकले धुलो नउडेको देखेर थाहा पाउनेछन् विकास कस्तो हुनेछ।'
अबका केही वर्षमा कच्चीसडक समाप्त हुने भन्दै ओलीले भने, ‘हामीलाई केही चाहिएको छैन, केही लिनु छैन, अब देशका लागि दिने हो।’
ओलीको प्रश्न- गौरीगञ्जमा मलाई किन कम भोट?
ओलीले सभालाई सम्बोधन गर्दै गौरीगञ्जका जनताले देशभरको लहर नबुझेको आरोप लगाए। आफूले धेरै काम गरेको तर भोट कम आएको भन्दै ओलीले आफूलाई दुःख लागेको टिप्पणी गरे।
‘अरुको २३ सय आउँदा मेरो किन ५ सय मात्र आयो, एमालेका साथीहरुलाई जनतालाई सम्झाउन भन्न चाहान्छु,’ ओलीले भने, ‘देशमा एउटा लहर आउनु तर यहाँ मलाई कम भोट किन आयो, जनताले नबुझेकै हो त?'
उनले झापा, भद्रपुर र गौरीगञ्ज झापाका पुराना बजार भएकाले त्यसलाई आधुनिक स्मार्ट सिटी बनाउने वाचा समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।