सुर्खेत– प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा सुर्खेतमा मुख्यतया वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा भयो। अन्य साना दलका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा भए पनि मतपरिणाममा भने गठबन्धन र कांग्रेस उम्मेदवारको प्रतिस्पर्धामा आउन सकेनन्।
प्रतिनिधिभाका लागि २ र प्रदेशभाका लागि चार निर्वाचन क्षेत्र रहेको सुर्खेतको कुनै पनि क्षेत्रमा साना दलका कुनै पनि उम्मेदवारले १ हजार मत पुर्याउन सकेनन्। विवेकशील साझा र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार बाहेक अन्य कुनै पनि उम्मेदवारले ५ सय मत समेत कटाएनन्।
सुर्खेतमा साना दलका उम्मेदवारहरुमध्ये सबैभन्दा बढी मत मंगोल नेसनल अर्गनाइजेसका नरबहादुर दर्लामी मगरले प्राप्त गरे। सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उनले ७ सय ९९ मत ल्याए।
त्यसैगरी, सुर्खेत क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट उम्मेदवार बनेका विवेकशील साझा पार्टीका उम्मेदवार ओमदत्त रेग्मीले ७ सय ६९ मत, विवेकशील साझाबाटै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार गोविन्दप्रसाद आचार्यले ७ सय ४० मत पाए। यस्तै, क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट उम्मेदवार बनेका मंगोल नेसनल अर्गनाइजेसनका भीमबहादुर विश्वकर्माले ६ सय ५२ मत प्राप्त गरे। त्यसबाहेक अन्य सबै उम्मेदवारले ५ सयभन्दा कम मत ल्याए।
जिल्लाबाट सबैभन्दा कम मत प्राप्त गर्नेमा नेपाल मजदुर किसान पार्टीका लक्ष्यबहादुर बुढा छन्। क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका उनले ६ मत मात्र प्राप्त गरेका छन्। सुर्खेतबाट वाम गठबन्धन र नेपाली कांग्रेससहित विभिन्न १० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।