चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान सुरु गरेका छन्।
वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट सुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुनेछ।
बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुनेछ।
संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ ।
मतदातालाई सडकमा नै गाडीमबाट उनले धन्यवाद दिइरहेका छन्।
सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा एमालेका कृष्ण भूर्तेल र (ख) प्रदेशबाट निर्वाचित नेकपा माओवादी केन्द्रका रामलाल महतो पनि सहभागी छन्।
प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गरेका छन्। दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।