धनगढी- प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ २ जना महिला उम्मेदवार मात्र विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यमा एक तथा प्रदेशसभा सदस्यमा एक जना विजयी भएका हुन्।
प्रदेश नम्बर ७ मा प्रतिनिधिसभा सदस्यका १६ र प्रदेशसभा सदस्यका ३२ निर्वाचन क्षेत्र रहेका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट वाम गठबन्धनकी उम्मेदवार बिना रानामगर विजयी भएकी हुन्। रानामगरले नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई हराइन्। बिनाले ३८ हजार ४ सय ६७ मत प्राप्त गर्दा बिष्टले १९ हजार २ सय १९ मत मात्र प्राप्त गरे।
सो क्षेत्रबाट २ महिलाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवार रुपादेवी बिष्टले ९८ र निरादेवी शाहीले ३१ मत मात्र प्राप्त गरे।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी नेतृ आरजु राणा देउवा ४ हजार ८ सय ८० मतान्तरले पराजित भएकी छिन्। सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना २७ हजार २ सय २ मतसहित विजयी भए।
त्यस्तै, कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार रहेकी पूर्व सांसद गीता राणा क्षेत्री पनि पराजित भएकी छिन्। उनले २ हजार ८ सय २१ मत प्राप्त गरेकी छिन्। सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट ३१ हजार ३ सय ५१ मतसहित विजयी भए।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी मीना चौधरी फराकिलो मतान्तरले पराजित भइन्। पूर्वसभासद् समेत रहेकी मीनाले ३ हजार एक सय ७० मत प्राप्त गरिन्। सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार गौरीशंकर थारु विजयी भए।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी राज्यलक्ष्मी चौधरीले जम्मा एक सय ५६ मत प्राप्त गरेकी थिइन्। सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार नरबहादुर धामी विजयी भएका छन्।
त्यस्तै बझाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कल्पना भण्डारी पनि पराजित भएकी छिन्।
त्यस्तै, प्रदेशसभा सदस्यमा पनि ७ नम्बर प्रदेशबाट एक जना महिला उम्मेदवार विजयी भएकी छिन्। बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल (थापा) विजयी भएकी हुन्।
यस प्रदेशका ९ वटै जिल्लाका अन्य क्षेत्रबाट प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका महिलाहरुले पराजय बेहोर्नुपरेको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘क’ मा नेपाली कांग्रेसकी उम्मेदवार जीवन राना पराजित हुन पुगिन्।
बझाङ प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्रादेवी जोशी वाम गठबन्धनका उम्मेदवार अर्जुनबहादुर थापासँग पराजित भएकी हुन्।
संविधानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ। उम्मेदवारी नै नदिई निर्वाचित हुने कल्पना संविधानले गरेको छैन। प्रतिनिधिसभा गठनसम्बन्धी संविधानको धारा ८४ उपधारा ८ ले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था गरेको छ।
प्रदेश नम्बर ७ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा महिला उम्मेदवारको संख्या ५ प्रतिशत रहे पनि एक जना मात्र विजयी भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।