काठमाडौं– मकवानपुरको एक इलेक्ट्रिक पसलका सञ्चालकले बैंकको लोन तिर्ने भाका सार्न र इन्स्योरेन्स दाबी गर्न झन्डै ३३ लाख चोरीको नाटक गरेको पाइएको छ। जेठ ८ गते घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा चोरी भएको भन्दै उक्त पसलका सञ्चालकका दाजु रुद्रप्रसाद घिमिरेले जेठ ११ गते प्रहरीको उजुरी दिएका थिए।
उक्त पसलबाट वाइरिङको तार ३१ बोरा (प्रति बोरा ५५ हजार ८ सय १२ को दरले जम्मा १७ लाख ३० हजार १ सय ७२), एलइडी बत्ती १२ कार्टुन (प्रति १६ हजार ६ सय ६६ का दरले १ लाख ९९ हजार ९ सय १२), स्विच १४ कार्टुन (प्रति कार्टुन ६६ हजार ६ सयका दरले ९ लाख ३२ हजा ४ सय), सिलिङ पंखा ४ कार्टुन (प्रति कार्टुन २९ हजार ७ सयका दरले १ लाख १८ हजार ८ सय) र नगद ३ लाख १२ हजार गरी ३२ लाख ९३ हजार २ सय ८४ रुपैयाँ बराबरको सामान चोरी भएको भन्दै घिमिरेले उजुरी दिएका थिए।
ठूलो मात्रामा सामान चोरी भएको उजुरी आएपछि प्रहरीले घटनाको अनुस्न्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा निवेदकले दिएका व्यहोराको पुष्टि हुने आधार प्रारम्भिक अनुसन्धानको क्रममै फेला पर्न सकेन। घिमिरेले आफ्नै योजनमा चोरी भएको झुटो उजुरी दिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगायो।
उजुरी दिने घिमिरेलाई नै पक्राउ परेर अनुसन्धान सुरु गरेपछि उनले झुटो उजुरी दिएको स्वीकार गरेको मकवानपुर प्रहरीले जनाएको छ।
वाइरिङको तार ३१ बोरा चोरी भएको र उक्त सामान ८ गते नै काठमाडौंको पाटीबाट डेलीभरी लिएको भनिएकोमा उक्त सामान डेलीभरी नलिएको र उनकै स्टोर रुममा फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै एलइडी बत्ती १२ कार्टुन, स्विच १४ कार्टुन, सिलिङ पंखा ४ कार्टुन चोरी भएको भनी निवेदनमा उल्लेख भएकामा हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथमा देवेन्द्र सापकोटाको घरमा कोठा लिई आफैंले लुकाए राखेको अनुसन्धानका क्रममा खुलेको छ।
सापकोटाको घरमा उनले एलइडी बत्ती ११ कार्टुन, स्विच ९ कार्टुन, सिलिङ पंखा ४ कार्टुन, फेला परेको छ। तर उनले ९१ कार्टुन एलइडी ५ कार्टुन स्विच संख्या बढाएर निवेदनमा उल्लेख गरेका थिए। ३ लाख १२ हजार नगद चोरी भएको भनिए पनि त्यस दिन काउन्टरमा रकम नै नराखेको पाइएको छ।
यसरी चोरीको नाटक गर्नुको कारण पनि उनले बताएका छन्। घिमिरेले सनराइज बैंकमार्फत ५० लाख रुपैयाँ लाने लिएकोमा बैंकले बारम्बार चाँडो लोन तिर्न दबाब दिएका कारण बैंकलाई आफ्नो पसल चोरी भएको देखाउँदै केही समय लोन तिर्ने भाका सारी दिन अनुरोध गर्न चोरीको नाटक गरेको उनले बताएका छन्।
त्यस्तै घिमिरेले चोरी भएको केही दिनअघि मात्र गत अप्रिल ३ मा ५० लाख बराबरको सिद्धार्थ इन्स्योरेन्स लिमिटेडमा आफ्नो इलेक्ट्रिक पसलको बिमा गरेका थिए। उक्त सामान चोरी भएको देखाएर इन्स्योरेन्स दाबी गर्ने र बैंकको ऋण तिर्ने योजना रहेको देखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।