काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–६ मा शुक्रबार बिहान आकस्मिक बाढी आएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रले बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर प्राप्त भएको बताए। उनका अनुसार बाढीबाट मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।
तर, बाढीका कारण तल्लो तटीय क्षेत्रका सल्लेरी र जगत बजार जोखिममा परेका छन्। जोखिमका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन्। बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको मिश्रले जानकारी दिए।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएको थियो। त्यसपछि एक्कासि बाढी आएको हो। बाढी पूर्वानुमान महाशाखाले पनि आकस्मिक बाढीबारे सतर्क रहन आग्रह गर्दै मोबाइलमा एसएमएस पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।