काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ। इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्यो।
इंग्ल्यान्डले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३९.५ ओभरमा २ सय ७ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाका लागि क्वान्टन डे ककले ६८ रन र भान डेर डुसनले ५० रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए। बेन स्टोक्स र लियाम प्लुङकेटले २-२ विकेट लिए। ब्याटिङमा पनि जमेका स्टोक्स म्यान अफ दि म्याच भए।
त्यसअघि लन्डनस्थित ओभलमा टस जितेको दक्षिण अफ्रिकाले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन जोड्यो।
इंग्ल्यान्डका लागि चार ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याट्सम्यान वेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए। उनले ७० बलमा ९ चौका हिर्काए। ओपनर जासन रोएले ५४ रनको बनाए। उनले ५३ बलमा ८ चौका हिर्काए। अर्का ओपनर जोन बिस्ट्र भने शून्यमा आउट भए। उनलाई इनिङको दोस्रो बलमा दक्षिण अफ्रिकाका इमरान ताहिरले आउट गरे।
जोए रुटले ५९ बलमा ५१ रन र कप्तान इयान मोर्गानले ५७ रन बटुले। जोस बटलर १८ रनमा आउट हुँदा मोइन अलीले ३ रन मात्र जोड्न सके। क्रिए ओएक्सले १३ रन बनाए भने लियाम प्लुङकेटले नटआउट ९ रन र जोफ्रा आर्चरले नटआउट ७ रन बटुले।
बलिङमा दक्षिण अफ्रिका लुङ्गी एनगिडीले ३ विकेट लिए। इमरान ताहिर र कागिसो राबाडाले २–२ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।