प्युठान- प्युठानमा बिहिबार अपरान्ह ठुलो हावाहुरीसँगै पानी पर्दा एक जनाको ज्यान गएको छ। प्युठान नगरपालिका-७ बाग्दुला टिकुरी बसर्पाक नजिकै अन्दाजी ३५/४० वर्षीया महिलाको शव भेटिएको हो। मृतकको परिचय खुलेको छैन। वर्षापछि आएको बाढीले झिमरुक नदि आसपासका चार घर भत्काएको छ। उनको मृत्युको कारण यकिन भइनसके पनि ती महिलालाई बाढीले बगाएर ल्याएको प्रहरीको अनुमान छ।
पानी र हावाहुरीले प्युठान जिल्लाका विभिन्न स्थानको जनजीवन प्रभावित बनाएको छ।
प्युठानका मुख्य सडक बग्दुला मञ्छि,बाग्दुला बाहने र मञ्छि ढाडा सडक बाढीले अवरुद्ध पारेको स्थानीयले बताए।
बाढीले जिल्लाको झिमरुक क्षेत्रमा एक बस, एक पिकअप दुई मोटरसाईकल र एक स्कुटर डुबाएको छ। खोलाले खेतवारीमा लगाएको बाली नष्ट गरेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानले एक्कासी आएको हावा हुरी सहितको बर्षाले जिल्लामा छिट्पुट नोक्सानी र्पुयाएको बताएको छ। क्षतिको एकिन विवरण संकलन र उद्धारमा सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।
उपल्लो प्युठानको गौमुखी क्षेत्रमा पानि परेर खहरेभेल उर्लिएपछि झिमरुकको बहाव बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।