जनकपुर- महोत्तरीको पिपरा गाउँपालिका १ की २० वर्षीया विमलादेवी यादवको रहस्यमय तरिकाले मृत्यु भएको छ। उनका माइती पक्षले भने मृतककै श्रीमान् र परिवारले दाइजो नदिएको निहुँमा हत्या गरेको आरोप लगाएका छन्।
मंगलबार विमलाको शंकास्पद मृत्यु भएको थियो।
माइती पक्षले विमलाका श्रीमान्, सासु, ससुरा र नन्द मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। जाहेरीपछि विमलाका श्रीमान् २५ वर्षीय बलेश्वर यादव र ससुरा ५५ वर्षीय शंकर यादवलाई प्रहरीले पक्राउ गरेको छ।
सासु र नन्दहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
विमलाका बुवा कमलेश यादवले तीन वर्ष पहिले छोरीको बिहे गर्दा पाँच लाख नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईँले मोटरसाइकल माग गर्दै आएको बताए।
६ सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको मृतकका बुबाले बताए।
‘मोटरसाइकलका नदिएको भनेर कुटपिट गरेको छोरीले भन्दै आएकी थिइन,’ उनले भने, ‘ज्वाई र उनका ससुराले कुटपिट गरिहन्थे। त्यही कारणले छोरीका हत्या गरेका हुन्।’
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले घटना शंकास्पद रहेको बताए।
थप अनुसन्धान र पोष्टमार्टम रिपोर्ट आएपछि वास्तविकता खुल्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।