काठमाडौँ । आम चुनावमा कमजोर प्रदर्शन गरेको भारतीय राष्ट्रिय कांग्रेसले एक महिना त्यहाँका टेलिभिजन च्यानल बहिस्कार गर्ने भएको छ। एक महिनाको अवधिभर कांग्रेसले कुनै पनि भारतीय टेलिभिजन बहसमा आफ्ना पार्टीका प्रवक्ता पठाउनेछैन।
पार्टीका मिडिया प्रमुख रणदीप सुर्जेवालाले बिहीबार टेलिभिजनका कुनै पनि बहसमा प्रवक्ताले एक महिनासम्म भाग नलिने घोषणा गरेका हुन्।
भारतीय टेलिभिजन च्यानले नरेन्द्र मोदीको मात्रै पक्षपोषण गर्ने र विपक्षीलाई बहसमा राम्रोसँग कुरा राख्न नदिने गरेको भन्दै आलोचना हुने गरेको छ। भारतीय टेलिभिजन च्यानलका कटु आलोचक पत्रकार रविश कुमारले ३ महिना कुनै पनि टिभी च्यानल नहेर्न आग्रह गरेका थिए।
सुर्जेवालाले आफ्ना पार्टीका कुनै पनि प्रतिनिधिलाई टेलिभिजन बहसमा नबोलाउनसमेत आग्रह गरेका छन्। ‘कांग्रेसले एक महिनाका लागि टेलिभिजन बहसमा प्रवक्ता नपठाउने निर्णय गरेको छ,’ ट्वीट गर्दै उनले लेखेका छन्, ‘च्यानल/सम्पादकलाई आफ्ना सोमा कांगेस प्रतिनिधि नराख्न आग्रह छ।’

यस्तो निर्णय गर्नुका कारणबारे भने कांग्रेसले केही पनि उल्लेख गरेको छैन। तर भारतीय मिडियाले भने राहुल गान्धीले पार्टी अध्यक्षमा निरन्तरता दिने या नदिने भन्ने विषयमा अनिश्चिता बढेको बेला यस्तो निर्णय आएको उल्लेख गरेका छन्।
गान्धीले चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनले आफ्नो निर्णयमा पुनर्विचार नगर्ने अडान लिएका छन्।
बुधबार कांग्रेसले आफूसँग सहकार्य गरेका विपक्षी दलसँग भेटघाट गर्दै भोली हुने बैठकका लागि निमन्त्रणा दिएको थियो। विपक्षी दलका केही मुख्य नेताले गान्धीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरिसकेका छन्।
लोकसभामा संसदीय दलको नेता चुन्न कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने बताइएको छ।
यो पनि : भारतीय टेलिभिजनका ‘लडाकु’ एंकर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।