काठमाडौं– पुलवामा घटनाले आणविक अस्त्रयुक्त दक्षिण एसियाका दुई स्थायी प्रतिद्वन्द्वी भारत र पाकिस्तान यतिबेला पुनः आमने–सामने छन्।
जारी विवादमा एकअर्काको भूमिमा हवाइ हमलादेखि सेनाका फाइल नियन्त्रणमा लिने र छाड्नेसम्मका काम भए। निकै लामो सत्रुतापूर्ण सम्बन्ध रहेका दुई देशबीच निम्तिएको तिक्तताभन्दा अर्कै विषयमा बढी चर्चा र आलोचना केन्द्रित भए।
त्यो हो– दुई देश, त्यसमा पनि विशेषगरी भारतीय टेलिभिजन च्यानलका न्युज एंकरको प्रस्तुति। दुई देशबीच चलेको ‘नोक–झोक’ले भारतीय टेलिभिजन पत्रकारिताको बिग्रँदो साखलाई पुनः सतहमा ल्याइदियो।
दुई देशबीच चर्केको विवादलाई मत्थर पार्न भूमिका खेल्नुपर्ने मिडिया उल्टै युद्ध उन्माद फैलाउने र त्यसका लागि सरकार र सेनालाई उकास्नेतिर लागे। यस्तो प्रस्तुतिप्रति भारत भित्रै र बाहिरबाट भारतीय टेलिभजन न्युज एंकरमाथि व्यंग्य र आक्रोस व्यक्त भए।
ट्वीटरमा भारतीय नागरिकबाटै न्युज एंकरप्रति यस्तो आक्रोस पोखिएको पाइयो जसमा विंग कमान्डरको साटो न्युज एंकरलाई लैजान पाकिस्तानलाई आग्रह गरिएको छ।
पूर्व भारतीय सञ्चारकर्मी समेत रहेका विवेक विशालले ट्विटरमा लेखे–
प्रिय पाकिस्तान, विंग कमान्डर अभिनन्दन वर्तमान हामीलाई फर्काइदेऊ। बदलामा हाम्रा न्युज एंकर लैजाऊ। उनीहरु सबैलाई त्यही राख्न। उनीहरुसँग के गर्न मन लाग्छ त्यही गर। र, कृपया तिनीहरुलाई हामीकहाँ फिर्ता नपठाऊ। सधैंका लागि।
न्युज एंकरप्रतिको यो हदको आक्रोसले भारतीय मिडियाको चुलिँदो पेशागत चुक र बिग्रिँदो साख झल्काउँछ।
न्युज रुमबाट ‘वार रुम’ तिर
भारतीय टेलिभिजन च्यानल हेर्दा लाग्छ– पत्रकारहरु न्युज रुममा होइन ‘वार रुम’ मा छन् र सेना होइन, उनीहरु नै हमला गरिरहेछन् पाकिस्तानतिर।
राष्ट्रवादको चर्को कुरा गर्छन् उनीहरु। आक्रमणमा सहभागी सेनाका अधिकारी आक्रामक छैनन् जति न्युज एंकर छन्। निकै कर्कस स्वरुमा उनीहरु ‘मार्ने’, ‘तोड्ने’, ‘नामोनिसान मेटाउने’, ‘सबक सिकाउने’ जस्ता हिंस्रक शब्दावली प्रयोग गरिरहेका छन्।
बालाकोट हवाई हमलापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाका प्रवक्ताले त्यस्ता शब्द प्रयोग गरेको सुनिएन बरु। भारतीय विदेश मन्त्रालयबाट जारी वक्तव्यहरुमा पनि त्यस्ता कुनै शब्दावली भेटाइँदैन्।
उता बालाकोट आक्रमणको जवाफी कारबाहीपछि भारतीय वायु सेनाको विमान खसालेको पाकिस्तानले पनि त्यस्ता शब्द प्रयोग गरेको सुनिएन।
जवाफी कारबाहीपछि देशका नाममा र संसद्मा गरिएका सम्बोधनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान सालिन सुनिन्थे। पाकिस्तानी सेनाका प्रवक्ता पनि ‘मिडिया ब्रिफ्रिङ’मा निकै जिम्मेवारीपूर्वक प्रस्तुत भएको देख्न पाइन्थ्यो।

आक्रमण वा युद्धका बेला देशको राष्ट्रिय स्वार्थ र सुरक्षा मामिलामा मिडिया सरकारकै साथमा हुन्छन्। यसलाई स्वभाविक रुपमा लिइन्छ।
तर, यस्तो बेला युद्ध उत्तेजना फैलाउनेतिर नभई युद्ध साम्य पार्नेतिर मिडियाको भूमिका अपेक्षा गरिन्छ। जहिल्यै मिडियालाई मानवता र मानवअधिकार रक्षाको वकालत गर्न सिकाउँछ पत्रकारिताको आचार संहिताले।
टेलीभिजन एंकरले प्रयोग गर्ने हिंस्रक शब्द
–गर्जियो हिन्दुस्तान, काप्यो पाकिस्तान
–हिजो घुसेर मार्यो, आज घुसेकाले मार्यो
–डरका कारण वार्ता चाहन्छ पाकिस्तान
–पाकिस्तानी सेनाले लेख्यो, इमरानले पढे
–भारतमा प्रवेश गर्यौं कि मारिन्छौं
–नक्साबाटै पाकिस्तान मेटिने छ
–अब पाकिस्तानको अन्तिम उपचार हुनेछ
–जब तोड्दैनौं तबसम्म छोड्दैनौं
–हिन्दुस्तानसँग जुधे मुक्का खाइएला
विकृत बहस संस्कार
पहिलो पटक भारतीय टेलिभिजन च्यानल खोल्नुभयो भने तपाईं तर्सिन बेर छैन। एंकरको कर्कस आवाज र सहभागी अतिथिको एकहोरो चिच्याहटले टेलिभिजनमा बहस होइन, झगडा भएको प्रतित हुन्छ।
अर्को पक्षको कुरा सुन्दै नसुन्ने र बोल्ने अवसर समेत नदिने, एकोहोरो फलाक्ने अतिथि र त्यसैलाई मसला बनाउने एंकरका कारण भारतीय टेलिभिजन च्यानलमा हुने बहस हेर्न र सुन्न लायक छैनन्। त्यस्ता कार्यक्रम लगातार पाँच मिनेट हेर्न ठूलै हिम्मत जुटाउनुपर्छ। ‘टर्चर’ झेल्न तयार हुनुपर्छ।
यही आम प्रवृत्तिका कारण अहिले भारतीय मिडियाले बदनामी समेत खेप्न परिरहेको छ। पछिल्लो भारत–पाकिस्तान विवादमा पाकिस्तानी प्रधानमन्त्रीले समेत मिडियाको प्रसंग उप्काए। उनले बिहीबारको संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय मिडियाले दुई देशमा आगो थप्ने काम गरेको टिप्पणी गरे। तर, यसपाला आफ्नो देशका मिडियामा परिपक्वता झल्किएको भन्दै सन्तोष व्यक्त गरे।

‘यहाँका मिडियाले निकै जिम्मेवार र परिपक्व व्यवहार देखाए,’ खानको टिप्पणी थियो, ‘यसको ठूलो कारण यो हो कि, हाम्रा मिडियाले पछिल्लो १५ वर्ष पाकिस्तानमा जुन आतंक र युद्ध भयो त्यो खुद आफैं देखेका छन्। बम, धमकाबाट कस्तो प्रकारको अवस्था सिर्जना हुन्छ। कसरी बम आक्रमणबाट मान्छे घाइते हुन्छन् भन्ने विभत्स अवस्था अस्पतालमा देखेका छन्। भारतीय मिडियाले यस्तो देख्नु परेको भए केही संयम हुन्थे होला।’
भारतीय पत्रकार रवीश कुमार पनि भारतीय मिडियाको अवस्था बिग्रिएको भन्दै चर्को आलोचना गर्ने गर्छन्। मिडिया ‘प्रोपगान्डा टुल’ बनेको र झुठा खबर बेच्ने उनको विश्लेषण छ। ‘जब पाकिस्तान र भारतबीच तनाव हुँदैन, न्युज च्यानलहरु मन्दिरको विषय उचालेर तनाव पैदा गर्छन्,’ उनको तिखो टिप्प्पणी छ, ‘जब मन्दिरको तनाव हुँदैन न्युज च्यानलले ‘पद्मावती’ चलचित्रको विषय उचालेर तनाव पैदा गर्छन्। जब कुनै चलचित्रका विषयमा तनाव वा विवाद हुँदैन, न्युज च्यानल कुनै झुठो विषय बनाएर हिन्दु–मुसलमानबीच तनाव पैदा गर्छन्। जब केही विषय नै हुँदैन त नक्कली विषयमा भएको सर्भेमा घन्टौं कार्यक्रम गर्छन्।’
लोकतन्त्रलाई समेत धरापमा पारेको भन्दै अढाइ महिना न्युज न्यानल नहेर्न उनको आग्रह छ।
उनको भनाइ छ–
यदि तपाईँ आफ्नो नागरिकता बचाउन चाहनुहुन्छ भने न्युज च्यानल हेर्न बन्द गरिदिनुहोस्। यदि तपाईँ लोकतन्त्रमा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न चाहनुहुन्छ भने न्युज च्यानल हेर्न बन्द गर्नुहोस्।
न्युज च्यानल हेर्नु भनेको आफ्नै पतन हेर्नु हो। म तपाईँहरुसँग अपिल गर्छु कि कुनै पनि न्यूज च्यानल नहेर्नूस्। टेलिभिजन सेटमा पनि र मोबाइलमा पनि न्युज च्यानल हेर्न छोडिदिनुस्। आफ्नो दिनचर्याबाटै न्युज च्यानल हेर्ने कुरालाई हटाइदिनुस्। तपाईँ एक नेतालाई समर्थन गर्नका लागि पत्रकारिताको पतनको समर्थन नगर्नूस्। केवल साढे दुई महिनाको कुरा हो। न्युज च्यानल हेर्न बन्द गरिदिनुस्।
केही समयअघि ‘कोब्रा पोस्ट’ले गरेको स्टिङ अपरेसनले भारतीय मिडियाको दुरावस्थाको चित्र बाहिर ल्याएको थियो। पैसा पाएको खन्डमा हिन्दुत्व फैलाउने र चुनावी फाइदाका लागि त्यसकै नाममा दंगाफसाद गराउन पनि अधिकांश भारतीय मिडिया तयार हुने तथ्य उक्त स्टिङ अपरेसनले खोलेको थियो।
पाकिस्तानी सेनाको नियन्त्रणपछि मुक्त भएका भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमानले समेत स्वदेश फर्किने बेला भारतीय मिडियाको आलोचना गरे। दिनभर अभिनन्दनलाई ‘वीर’ र ‘हिरो’ करार गरिरहेका भारतीय मिडियालाई साँझ उनैले पानी खन्याइदिए। पाकिस्तानबाट फर्किनुअघि उनले भारतीय मिडियाबारे भनेका थिए– ‘भारतीय मिडियाले सधैं कुरालाई बढाइचढाइ गर्छन्। सानोतिनो कुरालाई पनि उनीहरु यति धेरै आगो लगाएर बोल्छन्, त्यसबाट मान्छेहरु बहकाउमा आउँछन्।’

भारतीय टिभी च्यानलले नेपालबाट समेत आलोचना खेप्नु परेको थियो। २०७२ को महाभूकम्पको रिपोर्टिङ गर्न आएका भारतीय टिभी च्यानलले भूकम्पपीडितको उद्धारमा व्यवधान खडा गरेको र घटनालाई बढाइचढाइ गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै ट्विटरमा ह्यासट्याग ‘गो ब्याक होम इन्डियन मिडिया’ ट्रेन्डिङ भएको थियो।
उद्धारका लागि भारतबाट आएको सेनाको हेलिकोप्टरमा पीडितले भारतीय टिभी च्यानलकै कारण सिट नपाएको समाचार प्रकाशित भएको थियो। भारतीय दर्शकहरुले नै भारतीय मिडिया विरुद्धको नेपालको अभियानलाई समर्थन गरेका थिए।
वैकल्पिक मिडियाप्रतिको आशा
आलोचनाको तारोमा टेलिभिजनपछि हिन्दी भाषाका अखबार आउँछन्। टेलिभिजन एंकरकै शब्दावली ती अखबारले प्रयोग गर्ने गरेका छन्। टेलिभिजनहरुमा एनडी टिभीलाई भने अरुको तुलनामा केही सन्तुलित मानिन्छ। त्यहाँ पत्रकार रवीश कुमार कार्यरत छन्। हिन्दी अखबारका तुलनामा अंग्रेजी भाषाका अखबार केही सन्तुलित मानिन्छन्।
मुलधारका मिडियाको बिग्रँदो छविबीच वैकल्पिक मिडियाका रुपमा आएका समाचार पोर्टलले भने केही हदसम्म यसलाई रोक्ने आशा गरिएको छ। स्वतन्त्र सम्पादकीय नीतिबाट विचलित नहुन उनीहरुले विज्ञापन नहाल्ने र पाठकबाट स्वेच्छिक दान लिने गरेका छन्। दि वाइर, स्क्रोल, कोब्रा पोस्ट, न्युज लाउन्डरी लगायतका समाचार पोर्टल त्यसमा पर्छन्।
नेपाली मिडियाको कुरा
छिमेकका हरेक कुराको बाछिटा नेपालसम्म आइपुग्छन् नै। भारतीय मिडियाका गुण अवगुणबाट नेपाली मिडिया पनि अछुतो रहँदैनन्। बग्रेल्ती खुलेका अनलाइन र युट्युबले मिडियाको व्यावसायिक स्वच्छता कायम राख्नमा चुनौती थपेका छन्।
पुष्टि नै नगरी खबर ‘ब्रेक’ गर्ने अनलाइनको हतारो र मानवीय संवेदनाको समेत ख्याल नगरिदिने युट्युबरले कतै नेपाली मिडियाको प्रस्थान पनि त्यतै हुन थालेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ।
तमाम कमजोरीका बावजुद पनि मूलधारका नेपाली मिडिया भने अहिलेसम्म व्यावसायिकताको ‘लिक’ भित्रै रहेको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।